काठमाडौँ। नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्न योग्य कुल ७ लाख ८२ हजार २०९ सदस्यहरूमध्ये निर्धारित अन्तिम समयसम्म ५ लाख ३८ हजार ६ सय २२ जनाले एनसीआईडी प्राप्त गरेका छन्।
कांग्रेसले अन्तिम पटक शुक्रबार राति १२:०० बजेसम्म क्रियाशील सदस्यता अद्यावधिकका लागि समय निर्धारण गरेको थियो। सो समय भित्र वडा सभापति मार्फत ५ लाख ३८ हजार ६ सय २२ जनाले एनसीआईडी प्राप्त गरेको कांग्रेस कार्यवाहक मुख्यसचिव कृष्ण प्रसाद दुलालले जानकारी दिए।
कांग्रेसले संगठनलाई थप सुदृढ, व्यवस्थित र प्रविधिमा आधारित बनाउने उद्देश्यका साथ सञ्चालन भएको क्रियाशील सदस्यता अद्यावधिक कार्यमा देशभर उत्साहजनक रुपमा अधिकांश क्रियाशील सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको जनाएको छ।
कार्यवाहक मुख्यसचिव दुलालका अनुसार १ लाख ४९ हजार ३ सय ९ जनाले स्वयं अद्यावधिक फारम पेश गरी वडा सभापति मार्फत अद्यावधिक कार्यको प्रक्रियामा रहेको छ ।
इन्टरनेटको पहुँचभन्दा बाहिर रहेका उच्च हिमाली क्षेत्रका केही जिल्लाहरू, विकट पहाडी भूभाग, बारा र खोटाङ जिल्ला तथा कांग्रेससँग आबद्ध विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूमा जारी अद्यावधिक कार्यलाई थप व्यवस्थित गरिने कांग्रेसले जनाएको छ।
यसैगरी नयाँ क्रियाशील सदस्यता वितरण कार्य भने अर्को सूचना जारी नभएसम्मका लागि खुल्ला रहने कांग्रेसले भनेको छ।



