काठमाडौं। उपराष्ट्रपति रामसहाय प्रसाद यादव र कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङबीच भेटवार्ता भएको छ।
उपराष्ट्रपति यादवलाई भेट्न खापुङ बिहीबार उपराष्ट्रपतिको कार्यालय लैनचौर पुगेका हुन्। भेटवार्ताका क्रममा नेपालको संविधानले निर्दिष्ट गरेका जिम्मेवारी, संघीयता सुदृढीकरण, प्रदेश–संघीय समन्वय तथा आपसी सहकार्यका विषयमा विचार–विमर्श भएको बताइएको छ।
सो अवसरमा उपराष्ट्रपति यादवले प्रदेश प्रमुख खापुङलाई स्वागत गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सफल कार्यान्वयनका लागि प्रदेश र संघबीचको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याएको उपराष्ट्रपति यादवको सचिवालयले जनाएको छ।
सो क्रममा प्रदेश प्रमुख खापुङले संघीयता कार्यान्वयनमा प्रदेशस्तरको प्रतिबद्धता व्यक्त गर्दै राष्ट्रिय एकता, समावेशिता र संविधानको मर्मअनुसार प्रदेश सरकारको भूमिकाबारे उपराष्ट्रपति यादवलाई जानकारी गराएका थिए।



