काठमाडौँ। अर्थमन्त्री डा.स्वर्णिम वाग्ले विद्युतीय गाडीमा सूचना चुहावट गरेको भन्ने आरोप पुष्टि गर्न चुनौति दिएका छन्।
बिहीबार संसदको सार्वजनिक लेखा समितिमा छलफलमा सहभागी हुँदै अर्थमन्त्री डा. वाग्लेले विद्युतीय गाडीमा बेइमानी गरेको प्रमाण आए अर्थमन्त्री मात्रै होइन सार्वजनिक जीवन नै त्यागिदिने उद्घोष गरे।
डा. वाग्लेले नैतिकताको उच्च कडिमा उभिएर बनाएको छबि धमिल्याउन नियोजित रुपमा मानिसहरु लागेको र आफुलाई बदनाम गर्ने प्रयास गरेको समेत बताए।
"दुई अर्व होइन, दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् अर्थमन्त्री र राजनीति मात्रै होइन सार्वजनिक जीवन नै त्यागिदिन्छु," अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भने, "यो नैतिकता अन्य कोही संसद वा राजनीति गर्नेहरुमा छ?"
बीवाईडी ब्राण्डका विद्युतीय गाडी कोरोला र रसुवा नाकाबाट वजेट अगावै ठुलो संख्यामा आएको विषयमा करको दर चुहावट गरिएको भन्दै अर्थमन्त्रीमाथि प्रश्न उठ्दै आइरहेको छ।
अर्थ मन्त्रालयले सो विषयलाई छानबिन गर्न भन्दै समिति बनाएर अनुगमनमा पठाएको छ भने प्रारम्भिक अनुसन्धानका क्रममा भन्सार छली भएको नदेखिएको र विधि र प्रक्रिया अनुसार नै गाडी भित्राइएको पाइएको देखिएको छ।



