मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

लायन्स इन्टरनेशनल `डिस्ट्रिक्ट ३२५ के´ को मानवीय कार्य, तिलगंगा आँखा बैंकलाई १०८ वटा आँखा दान

लायन्स इन्टरनेशनल `डिस्ट्रिक्ट ३२५ के´ को मानवीय कार्य, तिलगंगा आँखा बैंकलाई १०८ वटा आँखा दान

images
२०८३ जेठ २७ गते, बुधवार
२०८३ जेठ २७ गते, बुधवार
  • काठमाडौँ। लायन्स इन्टरनेशनल स्थापनाको १०८ वर्ष पूरा गरी १०९औँ वर्षमा प्रवेश गरेको ऐतिहासिक अवसरमा डिस्ट्रिक्ट ३२५ के नेपालले तिलगंगा आँखा बैंकलाई १०८ वटा आँखा दान गरेको छ।

    images

    लायन्स इन्टरनेशनल स्थापनाको १०८ वर्षलाई विशेष र अर्थपूर्ण बनाउँदै लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालले एक उदाहरणीय मानवीय कार्य गरेको हो।

    images

    डिस्ट्रिक्टले 'नेपाल आँखा बैंक', तिलगंगा आँखा प्रतिष्ठान, गौशालालाई १०८ वटा आँखा दान (मरणोपरान्त कर्निया दान) को सहमति पत्र (फर्म) भरेर औपचारिक रूपमा हस्तान्तरण गरेको हो।

    "जहाँ आवश्यकता, त्यहाँ लायन्स" भन्ने मूल नारा र अन्धोपन निवारण गर्ने लायन्सको अन्तर्राष्ट्रिय गौरवमय इतिहासलाई आत्मसात् गर्दै डिस्ट्रिक्ट ३२५ के नेपालका लायन लिडर तथा सदस्यहरूले सामूहिक रूपमा यो सामाजिक प्रतिवद्धता जनाएका हुन्।

    संस्था १०८ वर्ष पार गरेको सुखद उपलक्ष्यमा १०८ जना दाताहरूबाट संकलन गरिएको उक्त आँखा दान फर्म नेपाल आँखा बैंकका अधिकारीहरूलाई हस्तान्तरण गरिएको हो।

    कार्यक्रममा डिस्ट्रिक्ट गभर्नर लायन दुर्गा प्रसाद हुमागाईंले नेतृत्व गर्दै लायन्स क्लब्स इन्टरनेशनलले विश्वभर नै दृष्टि संरक्षण र अन्धोपन विरुद्ध निरन्तर काम गर्दै आएको स्मरण गरे। गभर्नर हुमागाईंले भने, "मरणोपरान्त गरिने आँखा दानले दृष्टिविहीन व्यक्तिहरूको जीवनमा नयाँ उज्यालो छर्न सक्ने भएकाले यो कार्य आफैँमा महादान हो।´

    उनले यो भन्दा सेवामूलक काम अरु हुन नसक्ने बताउँदै संस्थाको १०८औँ वर्षगाँठलाई ऐतिहासिक कदम मार्फत मनाइएको बताए।

    आँखा दान फर्म बुझ्दै तिलगंगा आँखा प्रतिष्ठान तथा नेपाल आँखा बैंकका प्रतिनिधिले डिस्ट्रिक्ट गभर्नर लायन दुर्गा प्रसाद हुमागाईं तथा डिस्ट्रिक्ट ३२५ के नेपालको सम्पूर्ण टिमप्रति हार्दिक आभार प्रकट गरे।

    समाजमा अझै पनि आँखा दान सम्बन्धी भ्रम र चेतनाको कमी रहेको अवस्थामा लायन्स जस्तो प्रतिष्ठित संस्थाको नेतृत्व तहबाटै ठूलो संख्यामा सामूहिक आँखा दानको घोषणा हुनुले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने र धेरैलाई यस पुण्य कार्यमा लाग्न प्रेरणा मिल्ने विश्वास उनीहरुको थियो।

    मानवीय सेवा, भ्रातृत्व र सामाजिक रूपान्तरणमा अग्रणी भूमिका खेल्दै आएको लायन्स इन्टरनेशनलले आफ्नो १०८ वर्षको यात्रा पार गर्दा नेपालमा पनि स्वास्थ्य, शिक्षा, पर्यावरण र विपद् व्यवस्थापनका क्षेत्रमा अमूल्य योगदान पुर्‍याउँदै आएको छ।

    डिस्ट्रिक्ट ३२५ के नेपालको यो पछिल्लो कार्यले लायन्सको सेवाको भावनालाई थप उचाइमा पुर्‍याएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend