मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

नेपालमा बढ्दै ब्रेन ट्युमरका बिरामी, कति बढे?

नेपालमा बढ्दै ब्रेन ट्युमरका बिरामी, कति बढे?

images
२०८३ जेठ २५ गते, सोमवार
२०८३ जेठ २५ गते, सोमवार
  • काठमाडौँ। नेपालमा ब्रेन ट्युमरको समस्या बर्सेनि बढ्दो क्रममा रहेको एक तथ्यांक सार्वजनिक भएको छ।

    images

    चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गत वीर अस्पतालस्थित राष्ट्रिय ब्रेन ट्युमर केन्द्रले गरेको नेपालभरका २० भन्दा बढी न्युरो केन्द्रबाट संकलन  गरेको तथ्यांकले यो अवस्था देखाएको हो। 

    images

    राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका संस्थापक अध्यक्ष डा. राजीव झाले २०८२ मा देशभर ३ हजार जना ब्रेन ट्युमरका बिरामी उपचारका लागि न्युरो सम्बन्धि उपचार हुने विभिन्न  केन्द्रहरूमा पुगेको जानकारी दिए। तर २०८१ मा भने यो संख्या २ हजार ६ सय थियो। यसरी हेर्दा २०८२ सालमा त्यसअघिको वर्षमा (२०८१) भन्दा ४०० जना बढी बिरामी ब्रेन ट्युमरको उपचारका लागि अस्पताल पुगेको देखिन्छ।

    यो तथ्यांक विश्व ब्रेन ट्युमर दिवसको अवसरमा सोमबार सार्वजनिक गरिएको हो। तथ्यांक हेर्दा २०८१ मा भन्दा २०८२ मा ब्रेन ट्युमरका बिरामीहरू अस्पताल पुग्नेको संख्या एक वर्षमा १५.४ प्रतिशतले बढेको देखिन्छ। 

    तथ्यांकअनुसार २०८२ सालमा उपचारमा आएका बिरामीमध्ये १ हजार ५०२ जना पुरुष र १ हजार ४९८ जना महिला छन्। यसले यो रोगबाट महिला र पुरुष समान रुपमा पीडित भएको देखाउँछ।

    तथ्यांकअनुसार ब्रेन ट्युमर हुने ब्यक्तिहरुको औसत उमेर ४६.३२ वर्ष रहेको देखिन्छ भने ३० देखि ५० वर्ष उमेर समूहका बिरामीको संख्या सबैभन्दा बढी छ।

    केन्द्रका संस्थापक अध्यक्ष डा. झाले प्रारम्भिक अवस्थामै रोग पहिचान भएमा तथा समयमै उपचार सुरु गर्न सके धेरै बिरामीको जीवन बचाउन सकिने बताए। पहिलो र दोस्रो चरणमा रहेका ब्रेन ट्युमरको शल्यक्रियामार्फत उपचार गर्न सकिने तथा तेस्रो र चौंथो चरणमा पुगिसकेको अवस्थामा शल्यक्रियाका साथै विभिन्न थेरापीबाट उपचार गरिने उनी बताउँछन्।

    नेपालमा कुन ट्युमर बढी?

    उपचारमा आएका बिरामीहरुमा दुवै वर्षको तथ्यांक परीक्षण गर्दा अधिकांशमा `ग्लियोमा´ नामको ब्रेन ट्युमर पाइएको छ। 

    २०८१ मा उच्च-ग्रेड ग्लियोमाको अनुपात ४३.१ रहेको थियो। जुन २०८२ मा आउँदा बढेर ५५.९ प्रतिशत पुगेको छ। यस्तै, मेनिन्जियोमा २०८१ मा ७.४ प्रतिशत रहेकोमा २०८२ मा बढेर २७.१ प्रतिशत पुगेको छ भने ग्रेड–३ मेनिन्जियोमा १५ प्रतिशतले घटेको तथ्याङ्कले देखाएको छ। 

    लक्षण कस्ता?

    निरन्तर टाउको दुख्नु, बिहानै उठ्न बित्तिकै वान्ता हुनु, कान नसुन्नु, छारे रोग हुनु, शरीरमा प्यारालाइसिस देखिनुजस्ता लक्षण ब्रेन ट्युमरका लक्षण हुन सक्ने चिकित्सकहरु बताउँछन्। समयमा उपचारमा पुग्दा रोग पहिचान पनि समयमा नै हुने र निको पनि समयमा नै हुने चिकित्सकहरुको भनाइ छ।

    काठमाडौँस्थित वीर अस्पतालमा ब्रेन ट्युमरको निशुल्क शल्यक्रिया हुँदै आएको छ। विगत दुई वर्षदेखि लागू गर्दै आएको ब्रेन ट्युमर शल्यक्रिया निःशुल्क गर्ने कार्यक्रमलाई वीर अस्पतालले यस वर्ष पनि निरन्तरता दिएको हो। वीर अस्पतालले जुन महिनाको अन्त्यसम्म सम्पूर्ण ब्रेन ट्युमर शल्यक्रियाको शुल्क मिनाहा गर्ने निर्णय गरिएको जनाएको छ। 

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend