काठमाडौँ। रुपन्देहीको सैनामैना नगर अस्पतालमा तातो हावा लहर `लू´ प्रभावित बिरामीको उपचारका लागि उपचार कक्ष `हिट वेभ डेडिकेटेड वार्ड´ स्थापना गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी, सैनामैना नगरपालिका र स्वीस रेडक्रसको सहकार्यमा सञ्चालित शहरी पूर्व तयारी तथा आपतकालीन प्रतिकार्य प्रवर्धन (सुपर) परियोजनाको सहयोगमा तातो हावा लहर `लू´ प्रभावित बिरामी उपचार गर्न भन्दै `हिट वेभ डेडिकेटेड वार्ड´ स्थापना गरिएको हो।
सो वार्डको सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले शनिबार शुभारम्भ गरेका हुन्। हरेक वर्ष जुन २ मा `हिट एक्सन डे´ मनाइने गरेको छ।
सो अवसरमा अस्पतालमा एयर कन्डिसनर एसी– १ थान, अस्पताल बेड सेट १ सेट, स्ट्रेचर १ थान, पानी फिल्टर १ थान, टेबल–कुर्ची १ सेट नगर अस्पताललाई हस्तान्तरण गरिएको छ।
यस्तै सैनामैना नगरपालिकाअन्तर्गत रहेका १० वटा स्वास्थ्य केन्द्रहरूका लागि पनि आपतकालीन अवस्थामा प्रयोग गर्न १/१ थानका दरले स्ट्रेचर प्रदान गरिएको छ। नयाँ प्रविधि र सामग्रीहरूको उपलब्धतासँगै अब अस्पतालमा आउने लूः प्रभावित बिरामीहरूको उपचार व्यवस्थापनमा निकै सहज हुने विश्वास गरिएको छ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका सभापति रामचन्द्र उपाध्याय, सैनामैना–४ का वडाध्यक्ष एवं सैनामैना नगर अस्पतालका अध्यक्ष राम प्रसाद अधिकारी, नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हेमराज पन्थी, नेपाल रेडक्रस सोसाइटीका जिल्लाशाखा मन्त्री दिनेश पन्थी, तथा नेपाल रेडक्रस सोसाइटीका परियोजना अधिकृत कृष्ण मल्ल लगायत स्वास्थ्यकर्मी र रेडक्रसका प्रतिनिधिहरूको उपस्थिति थियो।



