काठमाडौँ। नेपाली कांग्रेसले संघीय सरकार मातहत रहेका मन्त्रालयले गरेका काम कारबाहीलाई हेर्ने तथा अध्ययन गर्ने गरेर सांसदहरूलाई जिम्मेवारी दिएको छ।
नेपाली कांग्रेस संसदीय दलका नेता भिष्मराज आङ्दम्बेका अनुसार विधानमा भएको ब्यवस्था अनुसार तथा १८ वटा मन्त्रालय मार्फत सरकारले गरेका कामकारबाहीलाई निगरानी गर्ने र संसदमा उठेका विषयमा विषयगत रुपमा छलफलमा सहभागी हुने गरेर जिम्मेवारी तोकिएको हो।
यो जिम्मेवारीले सांसदलाई सम्बन्धित मन्त्रालयको विषयको गाम्भीर्यतामा बहस गर्न सहज हुने कांग्रेसको बुझाइ छ। विभिन्न मुलुकमा यो अभ्यासलाई `छाया सरकार´को रुपमा लिइन्छ।
कांग्रेसले तोकेको जिम्मेवारी अनुसार समग्र सरकारको कामकारबाहीको विषय र संसदको विषयमा दलका नेता आङ्दम्बेलाई विषयगत जिम्मेवारी पाएका नेताहरूले जानकारी गराउनु पर्ने छ। कांग्रेसले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरूलाई मिलाएर यस्तो जिम्मेवारी दिएको हो।
दिइएको जिम्मेवारी अनुसार सांसद प्रकाशसिंह कार्कीले गृह मन्त्रालय अन्तर्गतको विषय तथा शान्ति सुरक्षाको अवस्थाको विषयमाथि अध्ययन गर्ने छन भने संसदमा गृहमन्त्रालय मातहत उठेका विषयमा राय दिने छन्।
यसैगरी परराष्ट्र सम्बन्धि मामिलामा सुनिलबहादुर थापा,
अर्थ मन्त्रालय सम्बन्धि मामिलामा नरेन्द्रकुमार केरुङलाई जिम्मेवारी दिइएको छ।
यस्तै पूर्वाधार विकास तर्फको विषयको अध्ययन र निगरानी गर्ने जिम्मेवारी डा. फिरदोश आलमलाई दिइएको छ भने स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतको विषयलाई डा. चन्द्रमोहन यादवले हेर्ने छन्।
यसैगरी उद्योग वाणिज्य तथा आपूर्ति तर्फ विष्णुबहादुर खड्का, कृषि वन तथा पर्यावरण तर्फ प्रमिलाकुमारी गच्छदार र कानुन न्याय तथा संसदीय मामिला तर्फको विषयमा खम्मबहादुर खातीले अध्ययन गर्ने छन्।
रक्षा मन्त्रालय सम्बन्धि विषयगत विषयमा खड्ग शाहीले अध्ययन गर्ने जिम्मेवारी कांग्रेसके दिएको छ। यसैगरी
सूचना तथा सञ्चार तर्फ मनमाया विश्वकर्माले अध्ययन गर्ने जिम्मेवारी पाएकी छन्।
यसैगरी युवा, श्रम तथा रोजगार तर्फको विषयमा गीता गुरुङ, विज्ञान प्रविधि तथा नवप्रवर्तन तर्फको विषयमा संदीप राना र ऊर्जा जलस्रोत तथा सिँचाइ तर्फको विषयलाई सन्तोष सुब्बाले निगरानी गर्ने गरेर जिम्मेवारी पाएका छन्।
महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयको विषयलाई डा. गंगालक्ष्मी अवाल, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका विषयको जिम्मेवारी जनकराज गिरी तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतका विषयमा उठेका विषयलाई योगेश गौचनले अध्ययन गरेर पार्टीका दलका नेतालाई जानकारी गराउने छन् भने विषयगत समितिमा आफ्नो धारणा दिनेछन्।



