काठमाडौँ। नेपाल प्रहरीका ३३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको सरुवा भएको छ। प्रधानमन्त्री एवम् गृहमन्त्री बालेन्द्र शाहले सोमबार एसएसपी सरुवाको निर्णय गरेका हुन्।
सरुवा सूची अनुसार जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी प्रमुखको जिम्मेवारी एसएसपी दिलिप घिमिरेले पाएका छन्। उनी प्रहरी प्रधान कार्यालय स्थित मानवश्रोत विकास विभागमा कार्यरत थिए।
काठमाडौँमा रहेका एसएसपी रमेश थापाको प्रहरी प्रधान कार्यालय स्थित अन्वेषण योजना तथा विकास निर्देशनालयमा सरुवा भएको छ।
यसैगरी ललितपुर प्रहरी प्रमुखमा एसएसपी तुल बहादुर कार्कीलाई ल्याइएको छ। कार्की गण्डकी प्रदेश प्रहरी कार्यालयमा कार्यरत थिए।
ललितपुरमा रहेका एसएसपी होबिन्द्र बोगटीको प्रहरी प्रधान कार्यालयस्थित राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखामा सरुवा भएको छ।
यसैगरी लागुऔषध नियन्त्रण ब्यूरोको प्रमुखको जिम्मेवारी एसएसपी सुवासचन्द्र बोहरालाई दिइएको छ। ब्यूरोमा कार्यरत कृष्ण प्रसाद कोइरालालाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा पोखरामा सरुवा गरिएको छ।
गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखरामा सञ्जय सिंह थापा, कोशी प्रदेश प्रहरी तामिल केन्द्र विराटनगरमा शिव कुमार श्रेष्ठ र उपत्यका ट्राफिक प्रहरी कार्यालयमा शान्तिराज कोइरालालाई सरुवा गरिएको छ।
यसैगरी सिन्धुलीको दुधौली स्थित बागमती प्रदेश प्रहरी तामिल केन्द्रमा बिर बहादुर बुढामगरलाई पठाइएको छ भने मानव बेचबिखन ब्यूरोमा नकुल पोखरेललाई पठाइएको छ।
यस्तै उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत नवराज अधिकारीलाई साइबर ब्यूरोमा काज सरुवा गरिएको छ। एसएसपी प्रभु ढकाल लाई मधेस प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ। उनी यसअघि बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौलीमा कार्यरत थिए। एसएसपी दयानिधी ज्ञवालीलाई लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलमा सरुवा गरिएको छ।









