काठमाडौं। विभिन्न आठ वटा विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि २१८ जना उमेदवारले आवेदन दिएकोमा १८८ उमेदवारको आवेदन स्वीकृत भएको छ।
ती विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको समितिले दरखास्तमा परेका आवेदकमध्येबाट स्वीकृत भएका १८८ जना उमेदवारको सूची बुधबार सार्वजनिक गरेको हो।
सार्वजनिक विवरणअनुसार त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि सबै भन्दा बढी ४३ जनाको आवेदन स्वीकृत भएको छ।
यसैगरी पूर्वाञ्चल विश्वविद्यालयका लागि ३४ जनाको आवेदन स्वीकृत भएको छ भने, पोखरा विश्वविद्यालयका लागि ३३, लुम्बिनी बौद्ध विश्वविद्यालयका लागि ७, कृषि तथा वन विश्वविद्यालयका लागि १३, मध्यपश्चिम विश्वविद्यालयका लागि १९, सुदूरपश्चिम विश्वविद्यालयका लागि १८ र राजर्षि जनक विश्वविद्यालयका लागि २१ जनाको आवेदन स्वीकृत भएको छ।
आवेदन स्वीकृत भएका यी उमेदवारले प्रस्तुतीकरण र अन्तर्वार्तामा भाग लिनेछन् भने त्यसका आधारमा समितिले मूल्यांकन गरी सम्बन्धित विश्वविद्यालयको उपकुलपतिका लागि तीनजनाको नाम कुलपति एवं प्रधानमन्त्रीसमक्ष सिफारिस गर्ने व्यवस्था छ।
समितिले गत वैशाख २५ गते ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ बमोजिम इच्छुक तथा योग्य उमेदवारलाई दरखास्त दिन आह्वान गरेको थियो।
त्यसअघि नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट जारी भएको पदमुक्तिसम्बन्धी विशेष अध्यादेशबाट विभिन्न विश्वविद्यालयका पदाधिकारीहरू पदमुक्त भएका थिए।
नेपाल खुला विश्वविद्यालयको रिक्त उपकुलपति पदमा यसअघि नै नियुक्ति प्रक्रिया सुरु भइसकेको छ। रिक्त रहेका पदाधिकारीहरूमा हाल निमित्तको जिम्मेवारी दिइएको छ।



