काठमाडौँ। स्वास्थ्य बीमा बोर्डले निजी अस्पतालबाट दिंदै आएको ओपिडी सेवा बन्द गर्ने भएको छ। बोर्डका अनुसार १६ जेठ देखि यो ब्यवस्था लागू गर्न लागिएको हो।
स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत निजी अस्पतालहरुबाट आर्थिक भार परेको निष्कर्ष सहित बोर्डले अर्को ब्यवस्था नहुँदा सम्म यो निर्णय लागू हुने जनाएको छ। अब बीमा लागू भएका निजी अस्पतालमा आकस्मिक सेवाका लागि मात्र स्वास्थ्य बीमा सेवा उपलब्ध हुनेछ।
गत ११ जेठमा बसेको बोर्डको बैठकले बढ्दो बित्तीय संकटलाई मध्यनजर गर्न यस्तो निर्णय गरिएको बोर्डद्धारा जारी सूचनामा जनाइएको छ ।
बोर्डका दावी भुक्तानी शाखा प्रमुख डा पवन साहका अनुसार यो निर्णयले बीमा कार्यक्रमको ओपिडी भार कम हुनेछ।
बोर्डको यो निर्णयले सरकारी अस्पतालबाट रेफर लिएर निजी अस्पतालमा उपचारका लागि जाने बिरामीहरू भने मर्कामा पर्ने भएका छन्। यो निर्णयले सरकारी अस्पतालमा झनै बिरामीको चाप बढ्ने अवस्था देखिएको छ भने दुई दिन सार्वजनिक बिदाको असर बीमा सेवा वापत हुने उपचारमा झनै पर्ने देखिन्छ।
निजी मेडिकल तथा डेन्टल कलेज सञ्चालकहरुको संस्था एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष डा ज्ञानेन्द्र मान सिंह कार्कीले निजी स्वास्थ्य संस्थाबाट आकस्मिक बाहेकका सेवा कटौती गर्ने बोर्डको निर्णय अपरिपक्व भएको प्रतिक्रिया दिए। सो निर्णय एकपक्षीय भएको दाबी गर्दै य्सको असर देखिने दाबी गरे।




