मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

मेडिकल काउन्सिलले भन्यो : रेजिडेन्ट चिकित्सकलाई कार्यबोझ नदिनु, बिरामीको सुरक्षामा असर पर्न सक्छ

मेडिकल काउन्सिलले भन्यो : रेजिडेन्ट चिकित्सकलाई कार्यबोझ नदिनु, बिरामीको सुरक्षामा असर पर्न सक्छ

images
२०८३ जेठ ११ गते, सोमवार
२०८३ जेठ ११ गते, सोमवार
  • काठमाडौं। नेपाल मेडिकल काउन्सिलले रेजिडेन्ट चिकित्सकहरूको २४ देखि ३६ घण्टा सम्मको अत्यधिक `ड्युटी आवर´का कारण मानसिक तथा शारीरिक स्वास्थ्यमा गम्भीर असर परेको भन्दै सम्बन्धित शिक्षण संस्था तथा अस्पतालहरूलाई ध्यानाकर्षण गराएको छ।

    images

    काउन्सिलले सोमबार एक विज्ञप्ति जारी गर्दै नेपालका विभिन्न विश्वविद्यालय, स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा शिक्षण अस्पतालहरूमा स्नातकोत्तर तह (MD/MS/MDS) अध्ययनरत रेजिडेन्ट चिकित्सकहरूलाई नियमविपरीत लगातार २४ देखि ३६ घण्टासम्म ड्युटीमा खटाइने गरिएको गुनासो प्राप्त भएको जनाएको हो।

    images

    काउन्सिलका निमित्त रजिष्टार डा. दिपेन्द्र पाण्डेद्वारा जारी विज्ञप्तिअनुसार अत्यधिक कार्यबोझका कारण चिकित्सकहरूमा शारीरिक थकान, मानसिक तनाव, डिप्रेसन तथा चरम निराशा (Suicidal Thoughts) देखिने अवस्था सिर्जना भएको उल्लेख गरिएको छ। काउन्सिलले त्यस्ता गुनासा तथा उजुरीहरु विभिन्न माध्यमद्वारा प्राप्त भइरहेको पनि बताएको छ।

    नेपाल सरकार स्वास्थ्य मन्त्री स्तरीय निर्णयबाट स्वीकृत “Regulations for Postgraduate Medical Education (MD/MS Programs) 2017” को भाग तीन अनुसार रेजिडेन्ट चिकित्सकलाई नियमित ड्युटीबाहेक बढीमा दुई पटक मात्र २४ घण्टासम्म ड्युटीमा खटाउन सकिने व्यवस्था रहेको छ। 

    सो नियमको मर्म विपरीत लगातार अत्यधिक कार्यबोझ दिनु उपयुक्त नहुने काउन्सिलले भनेको छ। यस्तै काउन्सिलले सो विषयमा लगातार चिकित्सा शिक्षा आयोगसँग समेत समन्वय गर्दै आइरहेको छ।

    कार्यबोझको कारण चिकित्सकहरु चरम शारीरिक तथा मानसिक थकानको अवस्थामा पुग्ने र त्यसले अन्जानमा बिरामीको उपचारमा नै गम्भीर त्रुटि हुन सक्ने उच्च जोखिम रहने तथा बिरामीको सुरक्षामा नै असर पर्न सक्ने तर्फ पनि सचेत रहनु पर्ने काउन्सिलको भनाइ छ।

    यस्तै, ‘NMC Code of Ethics and Professional Conduct-2017’ अनुसार प्रत्येक चिकित्सक शारीरिक तथा मानसिक रूपमा सेवाका लागि स्वयं सक्षम हुनुपर्ने उल्लेख गर्दै बिरामीको सुरक्षासँग पनि यो विषय प्रत्यक्ष रूपमा जोडिएको जनाएको छ।

    काउन्सिलले सबै शिक्षण संस्थालाई ड्युटी रोस्टर प्रचलित नियमअनुसार व्यवस्थापन गर्न, लगातार २४ घण्टाको ड्युटीपछि अनिवार्य विश्रामको व्यवस्था मिलाउन तथा रेजिडेन्ट चिकित्सकहरूको मानसिक स्वास्थ्य र कार्य वातावरण सुधार गर्न आवश्यक परामर्श तथा सहयोग संयन्त्रलिइ सुदृढ तुल्याउन आग्रह गरेको छ।

    जारी विज्ञप्तिमा चिकित्सकहरूको कार्यक्षमता उच्च राख्दै गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न सबै सरोकारवाला निकायले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरिएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend