काठमाडौँ। गृह मन्त्रालयले हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको छानबिन गर्न प्रहरी वरिष्ठ उपरीक्षकको संयोजकत्वमा टोली गठन गरेको छ।
गृह मन्त्रालयका प्रवक्ता एवम् सहसचिव आनन्द काफ्लेका अनुसार मन्त्रालयमा बसेको सबै सुरक्षा निकायका प्रमुख एवम् प्रतिनिधिसहित आइतबार बसेको आकस्मिक बैठकले छानबिन टोली गठन गरेको हो। टोलीलाई तुरुन्त कार्यस्थलमा खटिन र प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ
सो घटनाको जानकारी प्राप्त हुनासाथ गृह मन्त्रालय पूर्णरुपमा सक्रिय भइ तत्कालै हुम्ला र बाजुरा दुवै जिल्लाबाट नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपालको विशेष टोली घटनास्थलमा परिचालन गरिएको प्रवक्ता काफ्लेले जानकारी दिए।
सीमा क्षेत्रमा नागरिकको सुरक्षा सुनिश्चित गर्न र शान्ति सुव्यवस्थालाई थप मजबुत बनाउन मन्त्रालयले जिल्ला सुरक्षा समितिलाई निरन्तर उच्च सतर्कता अपनाउन र भविष्यमा यस्ता घटना दोहोरिन नदिने गरी सुरक्षा रणनीति अख्तियार गर्न समेत निर्देशन दिइएको उनको भनाइ छ।



