काठमाडौँ। काठमाडौँको तारकेश्वर नगरपालिकाबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्तीर्ण विद्यार्थीहरूलाई एक विशेष समारोहका बीच सम्मान गरिएको छ।
शनिबार 'परिवर्तन अभियान नेपाल' ले तारकेश्वरका सामुदायिक तथा संस्थागत विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान गरेको हो।
कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसीले विद्यार्थीहरूलाई बधाई दिँदै उनीहरू देशको भविष्य भएको बताए। उनले शिक्षामा केवल किताबी ज्ञान मात्र नभई अनुशासन र नैतिक मूल्य मान्यताको पनि उत्तिकै महत्त्व हुनेमा जोड दिए। नेता केसीले जीवनको नयाँ खुट्किलोमा सही निर्णय लिन र आफ्नो रुचि अनुसारको विषय छनोट गर्न पनि विद्यार्थीहरूलाई सुझाव दिए।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य खुश्बु ओलीले सफल विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिइन्। सो क्रममा उनले विद्यार्थीहरूलाई आत्मनिर्भर बन्न सुझाव दिँदै आफूले १६ वर्षकै उमेरदेखि काम गर्न थालेको अनुभव सुनाइन्।
`पढाइसँगै सीप र काम गर्ने बानी बसाल्नुस्, यसले तपाईंलाई आर्थिक रूपमा मात्र होइन अनुशासित पनि बनाउँछ।' ओलीले भनिन्।
साथै, उनले अभिभावकहरूलाई आफ्ना छोराछोरीलाई अरूसँग तुलना नगर्न र उनीहरूको रुचिको विषय पढ्न दिन आग्रह गरिन्। उनले नेपालमै भविष्य खोज्न सकिने वातावरण निर्माणका लागि आफूहरूले सदनमा नीतिगत तहमा काम गरिरहेको समेत बताइन्।
यसैगरी अर्का प्रतिनिधि सभा सदस्य केपी खनालले आफ्नो बाल्यकालदेखिको सामाजिक यात्रा स्मरण गर्दै विद्यार्थीहरूलाई स्वदेशमै भविष्य खोज्न आग्रह गरे।
उनले विदेश पलायन हुने प्रवृत्तिको सट्टा नेपालमै बसेर कसरी परिवर्तन ल्याउन सकिन्छ भन्नेमा ध्यान केन्द्रित गर्नुपर्ने बताए।
यस्तै प्रतिनिधि सभा सदस्य निष्कल राईले विद्यार्थीहरूलाई राजनीतिक र सामाजिक रूपमा सचेत रहँदै देश विकासमा लाग्न प्रेरित गरे।
कार्यक्रममा परिवर्तन अभियान नेपालका अध्यक्ष सुशील भट्टले विद्यार्थीहरूका लागि संस्थाले आगामी एक महिनासम्म निःशुल्क शैक्षिक परामर्श (काउन्सिलिङ) उपलब्ध गराउने घोषणा गरे। उनले आर्थिक अभावका कारण उच्च शिक्षा हासिल गर्न कठिनाइ भोगिरहेका विद्यार्थीहरूका लागि विभिन्न प्लस टु कलेजहरूसँग समन्वय गरी छात्रवृत्तिको व्यवस्था मिलाउने प्रतिबद्धता समेत व्यक्त गरे।
कार्यक्रममा बोल्दै कांग्रेस काठमाडौं जिल्ला सभापति सबुज बाँनियाले राज्यले नेपालको शैक्षिक शुधारमा ध्यान दिन आवश्यक भयको बताए।
नगरपालिकाको शैक्षिक अवस्थाबारे चर्चा गर्दै तारकेश्वर नगरपालिकाकी उपप्रमुख सिर्जना बुर्लाकोटी अर्यालले सामुदायिक र संस्थागत विद्यालयको नतिजामा सुधार आउनु खुसीको कुरा भएको बताइन्। नगरपालिकाले शिक्षा र खेलकुदलाई प्राथमिकतामा राखेर काम गरिरहेको उनले उल्लेख गरिन्।
कार्यक्रममा पृथ्वी नारायण माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायण काप्री, हिसान तार्केश्वर अध्यक्ष धन पुन लगायत विभिन्न विद्यालयका प्रअहरूले पनि विद्यार्थीहरूलाई भविष्यको शुभकामना दिएका थिए।
कार्यक्रममा ४.० जीपीए ल्याउने विद्यार्थीहरू सहित सबै उत्तीर्ण विद्यार्थीहरूलाई मायाको चिनो र सम्मान पत्र प्रदान गरिएको थियो।



