काठमाडौँ। नेपाल औषधी आयातकर्ता संघ (मीयान) ले क्यान्सर उपचारमा प्रयोग हुने औषधीको मौज्दात अब तीन साताका लागि मात्र भएको भन्दै अभाव हुन सक्नेतर्फ सरकारको ध्यानाकर्षण गराएको छ।
संघले बिहीबार एक विज्ञप्ति जारी गर्दै अभाव देखिएका औषधिहरुको समुचित वितरण तथा अनुगमन गर्न अध्यक्ष पवन आचार्यको नेतृत्वमा इकाईसमेत गठन गरिएको बताएको छ।
विश्वबजारमा कच्चा पदार्थको मूल्य बृद्धि तथा पश्चिम एशियामा देखिएको द्धन्दका कारण क्यान्सर उपचारमा प्रयोग हुने प्लाटिनम समूहका औषधीहरु सिस्पाटिन तथा कार्वोप्लाटिन, नर्मल स्लाइन तथा डीएनएस जस्ता अत्यावश्यक औषधीहरुको अभाव भएको संघले उल्लेख गरेको छ।
उल्लेखित यी औषधि प्राथमिक तहमा एक हप्ता र बजारमा बढीमा दुई हप्ताको लागि मात्रै मौज्दात रहेको संघले बताएको छ। अभावकै अवस्था कायम रहँदा यी औषधिले बढीमा तीन हप्तासम्म धान्न सक्ने संघले प्रष्ट पारेको छ।
उल्लेखित औषधीहरुको मूल्य लामो समयदेखि समायोजन हुन नसक्दा, विश्वबजारमा कच्चा पदार्थको मूल्य बृद्धि तथा पश्चिम एशियामा देखिएको द्धन्दका कारण ढुवानी, बीमा, उत्पादन तथा आपूर्ति श्रृङ्खलामा गम्भीर असर परेको संघले भनेको छ।
संघले २०७२ देखि औषधीको मूल्य समायोजन नभएको भन्दै सरकारलाई आपूर्ति व्यवस्था सहज बनाउन मूल्य समायोजन तर्फ लाग्न पनि आग्रह गरेको छ।
`अन्तर्राष्ट्रिय बजारमा औषधिको मुल्यमा उल्लेखनीय वृद्धि हुँदासमेत मूल्य समायोजन नहुँदा उत्पादक कम्पनीहरुले सरकारले तोकेको पुरानो मूल्य अनुसार औषधि आपूर्ति गर्न असमर्थ भएका छन, जसले आयात प्रक्रियामा प्रत्यक्ष असर पारेको छ।´ संघका महासचिव मधु पौडेल र अध्यक्ष आचार्यद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको आग्रह पछि संघले औषधी व्यवस्था विभागसँगको समन्वयमा आवश्यकता अनुसार अस्पतालहरुमा उपचाररत बिरामीहरुको पहुँचमा औषधी पुर्याउने प्रतिबद्धता पनि जनाएको छ।
संघले अत्यावश्यक औषधिको तत्काल आपूर्तिमा सहयोग पुग्ने गरी भन्सार सहजीकरणमा आवश्यक ब्यवस्था तत्काल लागू गर्न सरकारसँग अनुरोध गरेको छ।





