काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारलाई पाँच प्रश्न र सुझाव दिँदै संख्याको भरमा दम्भ भने नदेखाउन चेतावनी दिएका छन्।
सुनसरीमा आज आयोजित कार्यक्रममा बोल्दै थापाले सरकारलाई जवाफदेही बनेर जनताका जनजीविकाका सवाललाई सम्बोधन गर्न आग्रह गरे।
सरकारमा शक्तिको कारण जवाफदेहिता नदेखिएको भन्दै थापाले राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमत प्राप्त गरेर करिब दुई तिहाईको शक्ति प्राप्त गर्दै सरकार चलाउने म्यान्डेट पाएको भए पनि ठिक ढंगले नचलाएको बताए।
विगतमा बहुमत प्राप्त गरेका सरकारले ठिक ढंगले सत्ता सञ्चालन गर्न नसकेको स्मरण गर्दै थापाले जवाफदेही हुन आग्रह गर्दै भने, ‘सरकार चलाउने जनमत रास्वपाले पाएकोमा सम्मान गर्छौं, तर सरकार जवाफदेही बन्नुपर्छ।’
उनले विगतका सरकारले सुविधाजनक बहुमत प्राप्त गरेपनि कार्यकाल पुरा नभएको स्मरण गर्दै त्यस्तो नहोस् भन्दै सरकारलाई शुभकामना दिए।
‘सरकारले हेक्का राखोस् संविधान र कानुनमाथि कोही पनि हुँदैन,’ थापाले भने, ‘शक्तिशाली र लोकप्रिय भन्दैमा जे पनि गर्न पाइँदैन।’
थापाले पद र शक्ति छ भन्दैमा लहडका भरमा सुकुम्बासी बस्ती भत्काउन नपाइने भन्दै अगाडि भने, ‘सरकारले बस्ती व्यवस्थित गरोस् हाम्रो साथ रहन्छ, कसैलाई रहर लाग्दैमा सुकुम्बासीको व्यवस्थापन नगरी बस्ती भत्काउन पाइन्छ? अतिक्रमण भएको भए खाली गर्ने जिम्मेवारी भए पनि कानुनले तोकेको जिम्मेवारी अनुसार काम गर्नु पर्ने कि नपर्ने?´
सरकारले उद्योगी, व्यवसायी, बैंकरलाई मनपरी पक्राउ गरेको भन्दै कांग्रेस सभापति थापाले आक्रोस पोखे।
‘निर्माण व्यवसायीलाई घरबाट प्रहरी लगाएर उठाउने काम भयो, बैंकका सिइओलाई पनि बिना कारण पक्राउ गरेको खबर सुनियो, कानुन विपरितका कार्यमा असहमति छ र त्यस्ता कार्य दोहोर्याए कांग्रेसले प्रतिवाद गर्छ,’ थापाले भने।
थापाले कांग्रेस जिउँदो रहेको भन्दै कमजोर नठान्न पनि आग्रह गरे। ‘संख्या छ भन्दैमा सरकारले दम्भ नपालोस्,’थापाले भने।
नागरिकको जनजीविकामा गम्भीरता खै?
कांग्रेस सभापति थापाले आम नागरिकको जनजिविकासँग जोडिएको विषयमा सरकारलाई गम्भीर बन्न आग्रह गरे। मध्यपूर्वको संकटले नागरिकको दैनिक जीवनमा असर परेको भन्दै उनले सरकारको ध्यानाकर्षण पनि गराए।
‘इन्धनको मूल्यवृद्धिले जनजीवन प्रभावित भएको छ,’ थापाले भने, ‘सामान्य श्रम गरेर आम्दानी गरेका नागरिकको भान्सा चलाउन हम्मे भएको छ। यसका लागि सरकारले काम गरोस्।’
सहकारीबाट पीडित बनेकाहरुलाई करिब एक खर्ब रुपैयाँ फिर्ता गर्नुपर्ने अवस्था भए पनि सरकारले केही करोड निकासा गरेको भनेर लोकप्रियतामा रमाउन खोजेको आरोप लगाए।
यसैगरी स्वास्थ्य बिमामा देखिएको समस्या समाधान गर्न कांग्रेस सभापति थापाले सरकारलाई आग्रह गरे।
‘स्वास्थ्य बिमा हामीले सुरु गरेको हो, अहिले थला परेको छ, सरकारले व्यवस्थित गरोस्।’
सीमा क्षेत्रमा सय रुपैयाँ भन्दा बढी सामानमा कडाई गर्दा सिमा क्षेत्रका नागरिक समस्यामा परेको भन्दै सो विषयमा पनि संवदेनशील बन्न उनको सरकारलाई आग्रह छ। जनजिविकाका सवालमा सरकारले आह्वान गरेमा सहयोग गर्न कांग्रेस तयार रहेको उनको भनाइ थियो।
थापाले भने, ‘प्रधानमन्त्री तपाइँ कहाँ हुनुहुन्छ? हामी छलफल गर्न चाहान्छौं।’
संविधान संशोधनलाई खेलाँची नठान
कांग्रेस सभापति थापाले सरकारले अहिले संविधान संशोधन गर्न गठन भएको कार्यदलप्रति प्रश्न उठाउँदै संविधान संशोधनको विषयलाई खेलाँची नठान्न आग्रह गरे।
उनले २०७२को संविधानमा नेपालीको भावना जोडिएको भन्दै अगाडि थपे, ‘संविधानमा कतिपय नचाहेका विषय पनि छन्, संशोधन गर्नुपर्ने छ, हेक्का रहोस् यो भावनासँग जोडिएको विषय हो, संविधान संशोधनलाई खेलाँचीको विषय नबनाओस्, दुई चार जना बसेर संविधान संशोधन हुन सक्दैन, सरकारले ढंग पुर्याएको छैन।’
विविधता भएको समाजका भावनालाई ठिक ढंगले संवोधन गरिएन भने दुर्घटना हुन सक्ने भन्दै संविधान संशोधनको बहसमा कांग्रेसको पनि सरोकार भएको थापाले स्पष्ट पारे।
भदौ २४को दोषीलाई कारबाहीको माग
कांग्रेस सभापति गगन थापाले भदौ २४को घटनाको छानविन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरे।
‘भदौ २३ र २४ जेनजी आन्दोलन भयो, पुर्व न्यायाधिशको संयोजकत्वमा छानविन समिति पनि बन्यो,’ थापाले भने, ‘समितिले २३ गतेको विषयमा प्रतिवेदन दिएर कारबाही प्रक्रिया अघि बढाएको भए पनि भदौ २४ को घटना पनि छानविन हुनुपर्छ।’
भाद्र २४ गते सबैभन्दा बढी धनजनको क्षति पुगेको भन्दै सभापति थापाले भने, ‘दोषीलाई कानुनी कठघरामा ल्याउनुपर्छ।’
उनले जेनजी आन्दोलनको बारेको राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन पनि सार्वजनिक गर्न माग गरे।
सुशासनमा गम्भीर बन
थापाले शुसासनका मामलामा गम्भीर बन्न सरकारलाई आग्रह गरेका छन्। सार्वजनिक पद धारणा गरेका व्यक्तिको सम्पत्ति छानविन गर्न सरकारले गठन गरेको आयोगको क्षेत्राधिकार प्रष्ट हुनुपर्ने उनको भनाइ छ।
सुशासनको विषयमा गल्ती गरेको भए परीक्षामा उत्रिन आँफू तयार भएको बताउँदै प्रधानमन्त्री र सरकारका मन्त्री यो परीक्षामामा सहभागी हुन तयार होकी होइन? भनेर प्रश्न गरे।
मन्त्रीहरुको विषयमा उठेका प्रश्नको विषयमा छानविन हुनुपर्ने थापाले बताए। ‘मन्त्रीहरुका सम्पत्ति विवरणमा वैघ स्रोत के हो? परिवारले कहाँबाट आर्जन गर्यो?´ भन्ने प्रश्न हुनुपर्ने बताउँदै थापाले वैैैध ढंगले सम्पत्ति कमाउने अधिकार सबैसँग भएको बताए।



