काठमाडौँ। कैलालीको टीकापुरमा तालिमको क्रममा सशस्त्र प्रहरीका ८ जना जवान बेहोस भएका छन्।
टिकापुरस्थित सशस्त्र प्रहरीको राजस्व भन्सार तथा औद्योगिक तालिम शिक्षालयमा उनीहरू आधारभूत तालिममा थिए। तालिमका क्रममा `पिटी´ गर्दै गर्दा उनीहरु बेहोस भएका हुन्।
बेहोस भएका मध्ये ६ जनालाई सेनाको स्काई ट्रक मार्फत काठमाडौँ ल्याइएको सशस्त्र प्रहरी प्रवक्ता तथा सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णु प्रसाद भट्टले जानकारी दिए।
`नियमित आधारभुत तालिमका क्रममा पिटी गर्दै गर्दा उहाँहरू बेहोस हुनुभएको रहेछ, अत्यधिक गर्मिका कारण पनि हुन सक्छ, अहिले स्काइ ट्रकमा काठमाडौं ल्याएर उपचार सुरु भइसकेको छ।´ भट्टले एक्सरे नेपालसँग भने।
भट्टका अनुसार उनीहरुलाई उपचारका लागि सशस्त्र प्रहरी अस्पताल बलम्बु पुर्याइएको छ। अन्य दुई जवानको अवस्था सामान्य छ।



