काठमाडौँ। भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीन बहादुर गुरुङले एक अस्पतालका लागि ७१ करोड रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेका छन्।
गुरुङले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) बाल अस्पतालको एउटा ब्लक निर्माण गर्नका लागि ७१ करोड रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेका हुन्। सो ब्लकको नाम `वेस्ट ब्लक´ राखिएको छ।
सो ब्लकको यही जेठ ९ गते उद्घाटन गर्ने कार्यक्रम छ।सोही दिन भवन हस्तान्तरण हुनेछ। अस्पतालका अनुसार अत्याधुनिक भवन निर्माण अन्तिम चरणमा पुगे पनि बालबालिकाको गुणस्तरीय उपचारका लागि अत्यावश्यक मानिएको एमआरआई र सिटी स्क्यान मेसिन अभावमा अस्पताल पूर्ण रूपमा सञ्चालनमा आउन बाँकी छ।
किओचको निर्माणाधीन अस्पतालका लागि आवश्यक एमआरआई र सिटी स्क्यान मेसिन खरिद अभियानमा हालसम्म दुई करोड २४ लाख ७३ हजार ३३३ रुपैयाँभन्दा बढी सहयोग प्रतिबद्धता प्राप्त भएको अस्पतालले जनाएको छ।
डा भगवान कोइरालाको नेतृत्वमा देशका ७ प्रदेशमा ७ वटा बाल अस्पताल बनाउने लक्ष्य लिइएको छ। यो अस्पतालले विशेषगरी जटिल रोगबाट ग्रसित बालबालिकाहरूका लागि स्वदेशमै उपचारको ढोका खोल्ने लक्ष्य लिएको छ। अस्पताल मार्फत नेपालमा विशेषज्ञ बाल स्वास्थ्य सेवाको अभावलाई सम्बोधन गर्ने उद्देश्य राखिएको छ।



