काठमाडौँ। शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयको उपकुलपति र रजिस्टारको छनोट प्रक्रिया अघि बढेको छ।
शिक्षा, विज्ञान तथा अअअप्रविधि मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बुधबार बसेको विश्वविद्यालय सभा (सिनेट) बैठकले प्राडा जयराज अवस्थीको संयोजकत्वमा सिफारिस समिति गठन गर्ने निर्णय गरेको हो।
यसैगरी समितिका सदस्यमा प्राडा लोचना श्रेष्ठ र प्राडा दिनेश लम्साल तोकिएका छन्। समिति गठन भएसँगै शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयको उपकुलपति र रजिस्टारको छनोट प्रक्रिया अघि बढ्ने छ।
समितिको संयोजक प्राडा अवस्थी सुदूरपश्चिम विश्वविद्यालयका संस्थापक उपकुलपति समेत हुन्। विश्वविद्यालयका अनुसार समिति शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालय ऐन २०८२ बमोजिम गठन गरिएको हो।
बैठकले विभिन्न क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गर्दै छ जना विश्वविद्यालय सभा सदस्य (सिनेटर) पनि मनोनयन गरेको छ। विज्ञान तथा प्रविधि, शिक्षा, कानुन, व्यवस्थापन, मानवशास्त्र तथा समाजशास्त्र क्षेत्रबाट दुई महिलासहित विशिष्ट व्यक्तिहरूलाई सिनेटमा समावेश गरिएको जनाएको छ।
यसैबीच, बैठकले यसअघि विश्वविद्यालय सभामा रहेर योगदान पुर्याएका सबै सिनेटरप्रति धन्यवाद ज्ञापन गरेको छ।



