मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

स्वास्थ्य प्रवर्धन केन्द्रबाट १ लाख ७६ हजार २९१ जनालाई स्वास्थ्य सेवा प्रदान

स्वास्थ्य प्रवर्धन केन्द्रबाट १ लाख ७६ हजार २९१ जनालाई स्वास्थ्य सेवा प्रदान

images
२०८३ बैशाख ३१ गते, बिहिवार
२०८३ बैशाख ३१ गते, बिहिवार
  • काठमाडौँ। काठमाडौँ महानगरपालिकाले स्वास्थ्य प्रवर्धन केन्द्र मार्फत चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा १ लाख ७६ हजार २९१ जनाले स्वास्थ्य सेवा दिएको छ। 

    images

    काठमाडौँ महानगरपालिकाका अनुसार यो अवधिमा ७३ हजार ५०४ जनाले ओपिडी सेवा प्राप्त गरेका छन्। गत आर्थिक वर्ष २०८०/०८१ मा १ लाख २४ हजार ४४ जना सेवाग्राहीमध्ये ३५ हजार ९६६ जनाले ओपिडी सेवा लिएका थिए।

    images

    आ. व. २०८१/०८२ मा भने १ लाख ९४ हजार १९३ जना कुल सेवाग्राही थिए। सो वर्ष ओपिडी सेवा लिनेको संख्या ५९ हजार ५९ थियो। यस वर्ष करिब २ लाख ४० हजार सेवाग्राहीले सेवा लिने आँकलन गरिएको छ।

    बुधबार महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको वैठक कक्षमा स्वास्थ्य विभागका अधिकारीहरुले स्वास्थ्य संस्थाको न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनको नतिजा प्रस्तुतिकरण गर्ने क्रममा चालु आर्थिक वर्षमा प्रवाह गरिसकेको सेवाका विषयमा जानकारी गराएका हुन्।

    अहिलेसम्मको सेवा प्रवाहका विषयमा जानकारी लिइसकेपछि कार्यवाहक प्रमुख डंगोलले, शारीरिक र मानसिक स्वास्थ्य सुधारका लागि उपचारात्मक, प्रवर्धनात्मक तथा प्रतिरोधात्मक, निदानात्मक र पुनःस्थापनात्मक सेवाको सन्तुलन कायम गर्न विभागलाई निर्देशन दिइन्।

    ‘स्वस्थ्य समाज निर्माणका लागि सबै प्रकारका सेवालाई समान प्राथमिकता दिएर सञ्चालन गर्नुपर्छ, एउटा कार्यक्रम प्रभावकारी भएर अर्को कार्यक्रम कमजोर भयो भने यसले समग्र प्रणालीमा नकारात्मक असर गर्छ भन्ने कुरामा हेक्का राख्नुपर्छ।’ उनको भनाइ थियो।

    स्वास्थ्य विभागले ९ करोड ५४ लाख रुपियाँ संघ सरकारको बजेटबाट ३० वटा, २ करोड १९ लाख रुपियाँ प्रदेश सरकारको बजेटबाट ३ वटा र ८६ करोड २६ लाख ४२ हजार रुपियाँ महानगरपालिकाको आन्तरिक बजेटबाट १५४ वटा गरी १८७ वटा कार्यक्रम कार्यान्वयन गरिरहेको छ।

    स्वास्थ्य विभागका प्रमुख दिपककुमार केसीले महानगरपालिकाको कुल बजेटको ३.९ प्रतिशत अर्थात् ९७ करोड ९९ लाख ८२ रुपियाँ स्वास्थ्य क्षेत्रका लागि विनियोजित भएको बताए।

    छलफलमा जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठले, न्यूनतम सेवा मापदण्डका विषयमा प्रस्तुतिकरण गर्दै, ३ वटा क्षेत्र, २४ वटा उपक्षेत्र, ३०८ वटा सूचकमा प्रदान गरिएको ३७९ अङ्क भारमा नतिजा निकालिएको बताए।

    कार्यविधि अनुसार ८५ देखि १ सयसम्म अङ्क पाउनेलाई हरियो रंग संकेत गरिएको छ। वडा नं. ७, १२, १९, २७ का स्वास्थ्य प्रवर्धन केन्द्र र रामघाट प्राथमिक स्वास्थ्य केन्द्रले यो रङग संकेत प्राप्त गरेका छन् । ७० देखि ८४ सम्मको अङ्क पाउनेलाई निलो, ५० देखि ६९ अङ्क पाउनेलाई पहेँलो र ५० भन्दा कम अङ्क पाउनेलाई सेतो रंग संकेत प्रदान गरिएको छ।

    महानगरपालिकाका ७ वटा वडा निलो र २० वटा केन्द्रले पहेँलो रङग संकेत प्राप्त गरेका छन्। सेतो रंग प्राप्त गर्ने कुनै पनि केन्द्र छैनन्। यो मूल्याङ्कन २०८२ चैत महिनामा गरिएको हो।

    श्रेष्ठका अनुसार सुशासन र व्यवस्थापन क्षेत्रअन्तर्गत ६ वटा उपक्षेत्र, ७५ वटा सूचक र ७६ मूल्याङ्कन अङ्क भार छ।

    `क्लिनिकल सेवा व्यवस्थापन क्षेत्र अन्तर्गत ९ वटा उपक्षेत्र, १७५ वटा सूचक र २०८ अङ्क भार र स्वास्थ्य संस्था सहयोगी सेवा व्यवस्थापन क्षेत्र अन्तर्गत ९ वटा उपक्षेत्र, ८६ वटा सूचकको ९५ अङ्क भारमा मूल्याङ्कन गरिएको हो।´ श्रेष्ठले भने।

    महानगरपालिकाले हरेक वडामा स्वास्थ्य प्रवर्धन केन्द्र सञ्चालन गरेको छ।

    उपचारात्मक सेवामा प्राथमिक स्वास्थ्य उपचार, स्वास्थ्य बिमा, सुरक्षित मातृशिशु, सुरक्षित गर्भपतन, क्षयरोग नियन्त्रण, स्वास्थ्य शिविर, फार्मेसी, एकीकृत नवजात शिशु तथा बाल रोग व्यवस्थापन सेवा सञ्चालित छन्। यस्तै कुष्ठरोग नियन्त्रण सेवा, ज्येष्ठ नागरिक स्वास्थ्य सेवा, आयुर्वेद सेवा, बहुदीर्घकालीन रोग व्यवस्थापन सेवा, डेङ्गी रोग नियन्त्रणका कार्यक्रम सञ्चालित छन्।

    प्रवर्धनात्मक सेवामा राष्ट्रिय खोप सेवा, परिवार नियोजन, पोषण, स्वास्थ्य शिक्षा जनचेतना अभिवृद्धि, नसर्ने रोग नियन्त्रण सचेतना महाअभियान, सरुवा रोग नियन्त्रण सेवा, स्वास्थ्य प्रवर्धन सेवा, बैकल्पिक चिकित्सा सेवा छन्। यस्तै विद्यालय स्वास्थ्य शिक्षा, नसर्ने रोगको परीक्षण (स्क्रिनिङ्) कार्यक्रम, महामारी रोग नियन्त्रण तथा निवारण, सुरक्षित मातृत्व, योग अभ्यास तथा व्यवहार परिवर्तन अभ्यास, तथ्याङ्क संकलन, प्रशोधन र प्रतिवेदन निर्माण, अनुसन्धान, स्वास्थ्य संस्थाजन्य फोहर व्यवस्थापन कार्यक्रम सञ्चालनमा छन्।

    निदानात्मक सेवामा प्रयोगशाला सेवा, रेडियोलोजी र रयापिड डाइग्नोस्टिक टेस्ट कार्यक्रम छन्।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend