पोखरा। पोखराका बजारमा म्याद नाघेका आयुर्वेदिक औषधि विक्री हुनेगरेको हुनासो बढेपछि गरिएको ७ वटा पसलको अनुगमनका क्रममा ४ वटामा म्याद नाघेका औषधि फेला परेको छ।
जिल्ला प्रशासन कार्यालय कास्कीको अगुवाइ तथा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको नेतृत्वमा मंगलबार आयुर्वेदजन्य औषधी पसल (फार्मेसी) हरुको अनुगमन गरिएकोमा यो अवस्था भेटिएको हो। पोखरा महानगरपालिका वडा नं १० मा रहेका आयुर्वेदिक औषधी पसल तथा क्लिनिक/अस्पतालहरुको अनुगमन निरीक्षण गरिएको थियो।
अनुगमनका क्रममा साधना आयुर्वेद क्लिनिकबाट ८ हजार ८४ रुपैयाँ बराबरको म्याद नाघेको औषधीहरु नष्ट गरिएको छ।
यसैगरी नेचर केयर होम प्रा.लि.बाट २६ हजार ३९० रुपैयाँ बराबरको म्याद नाघेको र औषधी व्यवस्था विभाग (DDA) मा दर्ता नभएका औषधीहरु नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ।
फेमिली आयुर्वेद फार्मेसीबाट ५ हजार ९५० रुपैयाँ बराबरको, औषधी व्यवस्था विभाग (DDA) मा दर्ता नभएका औषधीहरु नष्ट गरिएको छ भने पोखरा हेल्दी होम्सबाट १९ हजार ९१ रुपैयाँ बराबरको म्याद नाघेको र औषधी व्यवस्था विभाग (DDA) मा दर्ता नभएका औषधीहरु नष्ट गरिएको छ।
यसैगरी पञ्चम आयुर्वेदिक फर्मा, रश्मी आयुर्वेद क्लिनिक प्रा.लि. र आरोग्य होम प्रा.लि.को समेत अनुगमनका क्रममा निरीक्षण गरिएको प्रशासन कार्यालयले सुचना मार्फत जानकारी दिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी बरालका अनुसार अनुगमनका क्रममा औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधि बिक्री वितरण नगर्न, म्याद नाघेका औषधि छुट्टै भण्डारण गर्न, कानुनले तोकेको न्यूनतम जनशक्ति व्यवस्थापन गरेर मात्र फार्मेसी, क्लिनिक वा अस्पताल सञ्चालन गर्न निर्देशन दिइएको छ।
यसैगरी व्यवसाय सञ्चालनका लागि आवश्यक दर्ता, नवीकरण तथा सञ्चालन अनुमति समयमै लिन र अनावश्यक तथा भ्रमपूर्ण पोस्टर तथा बोर्ड तत्काल हटाउन समेत निर्देशन दिइएको उनले जानकारी दिए।
सो अनुगमनमा गण्डकी आयुर्वेद औषधालय, पोखरा महानगरपालिका, सुरक्षा निकाय, सञ्चारकर्मी, उपभोक्तामञ्च सहितको बजार अनुगमन टोली सहभागी थिए।




