काठमाडौँ। माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा ‘एनजी’ (नन ग्रेडेड) प्राप्त गर्ने विद्यार्थीहरूले आगामी असार १ गतेदेखि पूरक अर्थात् ग्रेड वृद्धि परीक्षा दिन पाउने भएका छन्।
यस वर्षको नियमित परीक्षामा सहभागी भएर कुनै पनि विषयमा न्यूनतम अंक ल्याउन नसकेका विद्यार्थीहरू पुरक परीक्षामा सहभागी हुन पाउने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।
यस वर्षको नतिजामा १ लाख ४६ हजार ५ सय ७ जना विद्यार्थीले 'एनजी' प्राप्त गरेका छन्।
बोर्डले सोमबार राति सार्वजनिक गरेको नतिजा अनुसार यस वर्ष देशभरबाट सहभागी भएका कुल विद्यार्थीमध्ये ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस वर्षको परीक्षामा कुल ४ लाख ३० हजार ६ सय ६७ जना विद्यार्थी सहभागी भएका थिए।
जसमध्ये २ लाख ८४ हजार १६० जना विद्यार्थीले माथिल्लो कक्षामा भर्ना हुनका लागि आवश्यक ग्रेड प्राप्त गरेका छन्।



