काठमाडौँ। काठमाडौँ महानगरपालिकाले हाल जारी राखेको ज्येष्ठ नागरिक स्वास्थ्य सर्वेक्षणमा २ हजार ७५ जनाको विवरण संकलन गर्दा १०८ जनालाई अस्पताल लगेर उपचार गर्नु पर्ने अवस्था भेटिएपछि तत्काल अस्पताल पुर्याइएको छ।
सर्वेक्षण टोलीले उनीहरुको अवस्था जाँच गरेपछि उपचार आवश्यक परेकालाई तत्काल अस्पताल पठाउन सहजीकरण गर्ने गरेको छ। यसरी अस्पताल पुर्याइएकामा उमेरका हिसाबले सबैभन्दा पाको १०४ वर्षका ब्यक्ति छन्।
वैशाख २३ गतेसम्ममा संकलित विवरण अनुसार १ हजार ३७० जना महिला र ७०५ जना पुरुष गरी २ हजार ७५ जनाको विवरण संकलन भएको महानगरपालिकाले जनाएको छ। उनीहरुमध्ये १ हजार ९४६ जना परिवारसँगै छन्। १०८ जना सहयोगीबाट साथ लिएर एक्लो जीवन विताइ रहेका छन्। यस्तै आफन्त र नातेदारको आश्रयमा २१ जना रहेको पाइएको छ।
७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकहरुको स्वास्थ्य सर्वेक्षणका लागि महानगरपालिकाले २०८२ माघ १८ गतेदेखि सबै वडामा स्वास्थ्यकर्मीको टोली खटाएको छ। टोलीले ८४ वटा प्रश्नावलीको जवाफ, ज्येष्ठ नागरिकहरुले विताइरहेको जीवन स्तरको भौतिक र शारीरिक अवस्थाका आधारमा स्वास्थ्य सर्वेक्षण भइरहेको स्वास्थ्य विभागका प्रमुख दिपककुमार केसीले जानकारी दिए।
नागरिकलाई आधारभूत र आकस्मिक स्वास्थ्य सेवाको पहूँच वृद्धि गर्ने कार्यक्रम अन्तर्गत आगामी वर्षको स्वास्थ्य नीति, बजेट तथा कार्यक्रममा पृष्ठपोषण प्रदान गर्ने उद्देश्यले सर्वेक्षण गरिएको केसीको भनाइ छ।
सर्वेक्षणमा समेटिएका ज्येष्ठ नागरिकलाई ग्रीन, एल्लो र रेड जोनमा वर्गीकरण गरिएको छ। ग्रीन जोन भनेको सुरक्षित अवस्था हो। यो जोनमा भएका ज्येष्ठ नागरिकहरुलाई धेरै निगरानी र हेरचाह आवश्यक पर्दैन। यो जोनमा ९९५ जना परेका छन्
यल्लो जोनमा रहेका विरामीहरुलाई चिकित्सक, स्वास्थ्यकर्मी र परिवारको निगरानी तथा हेरचाह आवश्यक पर्छ। यो जोनमा ९७२ जना ज्येष्ठ नागरिक परेको केसीले जानकारी दिए।
उपचारका लागि तत्काल अस्पताल पठाउनु पर्ने अवस्थाका ज्येष्ठ नागरिकलाई रेड जोनमा राखिएको छ। यस्ता ज्येष्ठ नागरिकलाई तत्काल नजिकको स्वास्थ्य संस्थामा रेफर गर्ने गरिएको छ। कार्यक्रमका फोकल पर्सन अस्पताल नर्सिङ् निरीक्षक कल्पना श्रेष्ठका अनुसार रेड जोनमा १०८ जना ज्येष्ठ नागरिक छन्।
श्रेष्ठका अनुसार विवरण संकलन गरिएकामध्ये १ हजार ५३२ जनामा उच्च रक्तचाप छ भने ८१७ जनामा मधुमेह देखिएको छ। यस्तै २०४ जनालाई स्ट्रोक भएर उपचार गराइसकेको, ६२३ जनामा दमको समस्या रहेको, ६७४ जनामा मुटु रोग छ तथा ३५४ जनामा थाइराइड छ देखिएको छ।
यसैगरि ६७७ जनामा डिमेन्सिया, ११८ जनामा पारकिङसनिजम र १ हजार ६३६ जनामा हाडजोर्नीको समस्या देखिएको छ।
६९९ जना पूर्ण रुपमा ओछ्यानमा आश्रित छन्। नियमित ओछ्यानमा परेका कारण ४७ जनाको सरीरका विभिन्न ठाउँमा ओछ्याने घाउ भएको छ। ओछ्याने घाउलाई अवस्थाका आधारमा १ देखि ४ ग्रेडसम्म वर्गीकरण गरिएको छ। यो वर्गीकरण अनुसार ३९ जनाको घाउ पहिलो ग्रेडको छ। दोस्रो ग्रेडमा ५ जना र तेस्रो ग्रेडमा ३ जना छन्।
सर्वेक्षणमा रहेका स्वास्थ्यकर्मीहरुले ओछ्याने घाउ भएका ज्येष्ठ नागरिकको घाउको ड्रेसिङ गरिदिने गरेका छन भने घाउ हुनबाट कसरी बच्ने, भन्ने सिप सिकाउने गरिएको छ। आवश्यक भए उनीहरूले अस्पतालमा उपचारका लागि रेफर गर्ने समेत गरेका छन्।
२३ जना ज्येष्ठ नागरिकलाई नाकबाट पेटसम्म (न्याजोग्याष्ट्रिक ट्युब एनजी) पाइप राखेर खाना दिने गरिएको अवस्थाको भेटिएको छ। ५३ जनामा क्याथेटर (पिसाब फेर्न पाइप) राखिएको छ। यसरी न्याजोग्याष्ट्रिक ट्युव र क्याथेटरको राखिएकालाई यी सामानको हेरचाह र सुरक्षा कसरी गर्ने भन्ने सिकाउने गरिएको छ।
१ हजार ५ जनाको बिमा गरिएको छैन। सर्वेक्षण टोलीले उनीहरुलाई विमामा आवद्ध गराउन सहजीकरण गर्ने गरेको छ। आर्थिक अवस्था कमजोर भएका कारण ३५८ जनालाई औषधोपचार गर्न कठिन छ।



