काठमाडौँ। नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल र नेपाल महिला संघले नेतृत्व पाएको छ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका प्रमुख भ्रातृ संस्थाहरूको नेतृत्व चयन गर्ने क्रममा नेविसंघ, तरुण दल र महिला संघमा नेतृत्व नियुक्त गरेका हुन्।
थापाले धनकुटाकी करुणा कटुवाललाई नेविसंघको अध्यक्ष, काठमाडौंका मनिष कोइरालालाई तरुण दलको अध्यक्ष तथा चितवनकी मिना खरेललाई महिला संघको अध्यक्षको जिम्मेवारी दिएका हुन्। कटुवाल नेविसंघको अध्यक्ष बन्ने पहिलो महिला नेतृ समेत बनेकी छिन्।
केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भातृ संस्थाहरूमा रिक्त नेतृत्व चयन गर्ने अधिकार सभापति थापालाई दिएपछि थापाले रिक्त संस्थाको नेतृत्व नियुक्त गरेका हुन्।
तीनै जनालाई सम्बन्धित सङ्गठनको महाधिवेशन सम्पन्न गराउने मुख्य कार्यादेशसहित नेतृत्वमा ल्याइएको एक कांग्रेस नेताले जानकारी दिए।
कटुवाल विशेष महाधिवेशनमा सभापति थापालाई सहयोग गर्नमा अग्रमोर्चामा थिइन् भने कोइरालाले विशेष महाधिवेशनको ब्यवस्थापन र सुरक्षाको आन्तरिक सन्तुलन सम्हालेका थिए। यस्तै खरेल भने प्रतिनिधि सभा निर्वाचनमा चितवन २ बाट कांग्रेस उम्मेदवार थिइन्।



