काठमाडौँ। नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले संविधान संशोधन गर्दा प्रदेश संरचना हटाउन प्रस्ताव गरेका छन्।
उनले सामाजिक संजाल फेसबुक मार्फत आफ्नो निजि धारणा सार्वजनिक गर्दै संविधान संसोधनका लागि रास्वपाले यसअघि राख्दै आएको संघीयता प्रतिको धारणामा स्पष्ट हुन सो दललाई सुझाएका हुन्।
`पहिला रास्वपा संघियता खारेज भन्थ्यो अब संविधान संशोधन गर्ने कि नाई? गर्ने हो भने केन्द्र र पालिका मात्र होस।´ उनले फेसबुकमा लेखेका छन्।
उनले प्रतिनिधिसभाबाट समानुपातिक सिट पूर्ण रूपमा खारेज गर्नुपर्ने र सबै सिटमा प्रत्यक्ष निर्वाचन हुनुपर्ने उल्लेख गरेका छन्। समावेशिताको सुनिश्चितताका लागि उनले प्रत्यक्षतर्फ नै ४० प्रतिशत महिला र ६० प्रतिशत पुरुष उम्मेदवार हुनुपर्ने उल्लेख गरेका छन्।
त्यस्तै, माथिल्लो सदन (राष्ट्रिय सभा) लाई १०५ सदस्यीय बनाएर पूर्ण रूपमा समावेशी (५० प्रतिशत महिला र ५० प्रतिशत पुरुष) बनाउनुपर्ने उनको तर्क छ।
`राष्ट्रिय सभा 105सिट,पुरै समावेसी महिला पुरुष50%-50% उपराष्ट्रपति नै सभाध्यक्ष हुने ब्यबस्था होस। प्रतिनीधिसभा समानुपातिक सिट खारेज,महिला पुरुष 40%-60% प्रत्यक्ष। जिसस पर्दैन।´ बास्कोटाले लेखेका छन्।
नेता बास्कोटाले जिल्ला समन्वय समिति (जिसस) को पनि आवश्यकता नरहेको उल्लेख गरेका छन्। उनले भनेका छन्, 'संविधान संशोधन गर्ने हो भने केन्द्र र पालिका मात्र होस्, जिसस पर्दैन।'




