काठमाडौँ। सरकारले निजामती कर्मचारीसहित स्वास्थ्य सेवा तर्फका कर्मचारीले खोलेका १२ वटा ट्रेड युनियन खारेज गरेको छ।
सरकारले `केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश´ को आधारमा सम्बन्धित ऐनहरूमा संशोधन गर्दै १२ वटा विभिन्न ट्रेड युनियनहरुको दर्ता खारेज गरेको हो। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले बुधबार सूचना जारी गर्दै खारेज भएका ट्रेड युनियनहरुको नाम सार्वजनिक गरेको छ।
विभागले जारी गरेको सूचना अनुसार केही नेपाल ऐनलाई संसोधन गर्न बनेको अध्यादेशको आधारमा पञ्जीकरण अधिकारीहरुको बुधबार बसेको बैठकको निर्णयबाट ती ट्रेड युनियनहरु खारेज भएको उल्लेख छ।
विभागका अनुसार निजामती सेवा ऐन २०४९ को (दोस्रो संसोधन २०६४) को दफा ५३ को उपदफा (२) बमोजिम दर्ता भएका राष्ट्रियस्तरका निजामती कर्मचारीहरुको ट्रेड युनियनहरुमा नेपाल निजामती कर्मचारी संगठन दर्ता नम्बर २१४, नेपाल निजामती कर्मचारी युनियन दर्ता नम्बर २१५, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन दर्ता नम्बर २२१, नेपाल मधेसी निजामती कर्मचारी संघ दर्ता नम्बर २३१, नेपाल स्वास्थ्यकर्मी संघ दर्ता नम्बर २७२, मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल दर्ता नम्बर २८४, एकीकृत सरकारी कर्मचारी संगठन नेपाल दर्ता नम्बर ५२३, स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन नेपाल दर्ता नम्बर ५७० छन्।
यसैगरी नेपाल स्वास्थ्य सेवा ऐन २०५३ को चौथो संसोधन २०७० को दफा ९२ क (१) बमोजिम दर्ता भएका राष्ट्रिय स्तरका ४ वटा ट्रेड युनियनहरु पनि खारेज भएका छन्।
जसमा नेपाल स्वास्थ्यकर्मी युनियन दर्ता नम्बर ३६०, स्वास्थ्यकर्मी युनियन नेपाल दर्ता नम्बर ३६१, राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपाल दर्ता नम्बर ३६४ र राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठन दर्ता नम्बर ५५२ रहेका छन्।




