काठमाडौँ। नेपाल चिकित्सक संघको केन्द्रीय कार्यकारिणी समिति (२०८२-२०८५) का लागि भएको निर्वाचन अन्तर्गत मतगणना अझै जारी छ। गणना आज सकिने र आजै परिणाम सार्वजनिक हुनेछ।
नयाँ नेतृत्व चयनका लागि दुई चरणमा गरि भएको निर्वाचनमा कुल ७ हजार १०१ मत खसेको थियो। हालसम्मको गणनामा डा. बद्री रिजालले अग्रता कायम राख्दै डा. मंगल रावललाई पछि पारिरहेका छन्।
संघको नयाँ नेतृत्व चयन गर्न वैशाख १८ र १९ गते काठमाडौँ उपत्यकामा मतदान सम्पन्न भएको थियो भने त्यस अघि वैशाख ४ र ५ गते उपत्यका बाहिर मतदान भएको थियो। हालसम्म ५ हजार ९६५ मत गणना भइसकेको छ।
संघको नेतृत्वका लागि निर्वाचनमा डा. रिजाल, डा. रावल र डा. नारायण भुषालको तीन वटा प्यानल प्रतिस्पर्धामा छ। तीनै समुहबाट गरि कुल ५५ जना चुनावी प्रतिस्पर्धामा रहेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।
केन्द्रीय निर्वाचन समितिका अनुसार अध्यक्ष पदमा डा. रिजालले हालसम्म २ हजार ६६९ मत पाएका छन् भने डा. रावलले २ हजार ५०७ मत पाएका छन्। यसैगरी भुसालले ७१६ मत पाएका छन्।
यसैगरी वरिष्ठ उपाध्यक्ष तर्फ डा. संजीव तिवारीले २ हजार ४९२ मत प्राप्त गर्दा डा. किर्तिपाल सुवेदीले १ हजार ९५४ मत पाएका छन्। यस्तै डा. अजय कुमार मिश्रले १ हजार २४१ मत पाएका छन्।
महासचिव पदमा भने डा. विश्वराज दवाडीले २ हजार २५९ मत पाएका छन्, डा. कालुसिंह खत्रीले २ हजार ७१, डा. र डा. अमृत भुसालले १ हजार ३८२ मत ल्याएका छन्।
निर्वाचन अन्तर्गत काठमाडौँ उपत्यकामा कुल २ हजार ८५८ मत खसेको थियो। यसैगरी उपत्यका बाहिर कुल ४ हजार २४४ मत खसेको थियो। यसपटकको निर्वाचनमा कुल १६ हजार १०० चिकित्सक मतदानका लागि योग्य मानिएका थिए। यसपटक खसेको मत कुल सदस्य संख्याको ४४.११ प्रतिशत हो।
संघको विधानमा १९ सदस्यीय केन्द्रीय कार्यसमिति रहने ब्यवस्था छ। जस अनुसार अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, प्रत्येक प्रदेशबाट १–१ जना गरी ७ उपाध्यक्ष, महासचिव १, कोषाध्यक्ष १, सहसचिव १, सह-कोषाध्यक्ष १ र सदस्य ६ गरी कुल १९ जनाको केन्द्रीय कार्यसमिति निर्वाचित हुने ब्यवस्था छ।



