काठमाडौँ। नेपाल चिकित्सक संघको केन्द्रीय कार्यकारिणी समिति (२०८२-२०८५) का लागि भएको निर्वाचन अन्तर्गत अहिले मतगणना जारी छ।
नयाँ नेतृत्व चयनका लागि दुई चरणमा गरि भएको निर्वाचनमा कुल ७ हजार १०१ मत खसेको थियो। हालसम्मको गणनामा डा. मंगल रावलले अध्यक्ष पदमा अग्रता लिएका छन्। उनको पछि डा. बद्री रिजाल छन्।
संघको नयाँ नेतृत्व चयन गर्न वैशाख १८ र १९ गते काठमाडौँ उपत्यकामा मतदान सम्पन्न भएको थियो भने त्यस अघि वैशाख ४ र ५ गते उपत्यका बाहिर मतदान भएको थियो।
संघको नेतृत्वका लागि निर्वाचनमा डा. रावल, डा. रिजाल, र डा. नारायण भुषालको तीन वटा प्यानल प्रतिस्पर्धामा छ। तीनै समुहबाट गरि कुल ५५ जना चुनावी प्रतिस्पर्धामा रहेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।
केन्द्रीय निर्वाचन समितिका अनुसार अध्यक्ष पदमा डा. रावलले अहिलेसम्म ४६५ मत पाएका छन् भने डा. रिजालले ४०९ मत पाएका छन्। यसैगरी भुसालले १२१ मत पाएका छन्।
यसैगरी वरिष्ठ उपाध्यक्ष तर्फ डा. किर्तिपाल सुवेदीले ३९८ मत प्राप्त गर्दा डा. संजिव तिवारीले ३७८ मत पाएका छन्। यस्तै डा. अजय कुमार मिश्रले १७५ मत पाएका छन्।
महासचिव पदमा भने डा कालुसिंह खत्रीले ३७३, डा विश्वराज दवाडीले ३४७ र डा. अमृत भुसालले २३७ मत ल्याएका छन्। अहिले पनि मतगणना जारी छ।
निर्वाचन अन्तर्गत काठमाडौँ उपत्यकामा कुल २ हजार ८५८ मत खसेको थियो। यसैगरी उपत्यका बाहिर कुल ४ हजार २४४ मत खसेको थियो। यसपटकको निर्वाचनमा कुल १६ हजार १०० चिकित्सक मतदानका लागि योग्य मानिएका थिए। यसपटक खसेको मत कुल सदस्य संख्याको ४४.११ प्रतिशत हो।
संघको विधानमा १९ सदस्यीय केन्द्रीय कार्यसमिति रहने ब्यवस्था छ। जस अनुसार अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, प्रत्येक प्रदेशबाट १–१ जना गरी ७ उपाध्यक्ष, महासचिव १, कोषाध्यक्ष १, सहसचिव १, सह-कोषाध्यक्ष १ र सदस्य ६ गरी कुल १९ जनाको केन्द्रीय कार्यसमिति निर्वाचित हुने ब्यवस्था छ।



