काठमाडौ। केही दिनयतादेखि जारी वर्षाका कारण देशका विभिन्न स्थानका सडक अबरुद्ध भएका छन्।
वर्षासँगै आएको पहिराका कारण देशभरीमा विभिन्न मुख्य राजमार्ग तथा सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएका हुन्।
नेपाल प्रहरीका अनुसार आज बिहानको पहिरोका कारण ललितपुरको बागमती गाउँपालिका–३ पाङ्दुरस्थित कान्तिलोकपथ पूर्णरुपमा अबरुद्ध बनेको छ।
यसैगरी प्युठान सरुमारानी गाउँपालिका–४ खहरे खोलास्थित भालुवाङ–प्युठान सडकखण्ड, मकवानुर भीमफेदी गाउँपालिका–८ भर्याङडाँडास्थित कान्ति लोकपथ सडकखण्ड तथा लमजुङ मध्यनेपाल नगरपालिका–१० बिमिरे भञ्ज्याङस्थित मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरोध भएका नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए।
यस्तै वैशाख १६ गतेको पहिरोको कारण सिन्धुपाल्चोक भोटेकोसी–२ कोदारीस्थित अरनिको राजमार्गमा पूर्ण रुपमा अवरुद्ध भएकोमा हाल सम्म सञ्चालन हुन सकेको छैन।
यसैगरी वैशाख १२ गतेको बाढीका कारणअवरुद्ध भएको भोजपुर नगरपालिका–५ बोखिमको मध्यपहाडी लोकमार्ग तथा वैशाख १६ गतेको पहिरोका कारण अबरुद्ध बनेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ जलथलेस्थित बेनी–जोमसोम सडकखण्ड भने एकतर्फी रुपमा सञ्चालनमा आएका प्रहरीले जनाएको छ।
वर्षाको समयमा बाढी, पहिरोको जोखिम बढी हुने भएकाले सडकको अवस्था बुझेर तथा सावधानीपुर्वक सवारीसाधन चलाउन प्रहरीले अनुरोध गरेको छ।



