काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुकुम्बासीलाई अस्थायी ब्यवस्थापन गरिएको कीर्तिपुरस्थित राधा सत्संग केन्द्रमा एकदिने निःशुल्क स्वास्थ्य शिविर गर्दै ८२ जनाको स्वास्थ्य परीक्षण गरेको छ।
मन्त्रालयले शुक्रबार सुकुम्बासी व्यवस्थापन कार्यक्रम अन्तर्गत अस्थायी रूपमा स्थानान्तरण गरिएका नागरिकहरूलाई लक्षित गरी कीर्तिपुरस्थित राधा सत्संग केन्द्रमा एकदिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो।
शिविरबाट कुल ८२ जनाले स्वास्थ्य सेवा लिएको मन्त्रालयले जनाएको छ। जस मध्ये ४२ जनाको साधारण जाँच, २० जनाको आँखा जाँच, २० जनाको दाँत, १३ जनाको रगतमा चिनीको मात्रा परीक्षण र १४ जना बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको हो।

उक्त शिविरमा ५ जनालाई मनोसामाजिक परामर्श, २ जनालाई महिला स्वास्थ्य सम्बन्धी सेवा र ४६ जनालाई निःशुल्क औषधि वितरण गरिएको छ। थप उपचारको आवश्यकता देखिएका १७ जनालाई वीर अस्पताल र ६ जनालाई कान्ति बाल अस्पतालमा प्रेषण गरिएको छ।

साथै, सुकुम्बासी व्यवस्थापन कार्यक्रम अन्तर्गत अस्थायी रूपमा स्थानान्तरण गरिएका नागरिकहरूलाई लक्षित गरी त्रिपुरेश्वरस्थित रङ्गशालामा आयोजित तीन दिने स्वास्थ्य शिविरको पहिलो दिनमा कुल १४० जनाले स्वास्थ्य सेवा लिएको मन्त्रालयले जनाएको छ।
जसमध्ये १०१ जना महिला, ३९ जना पुरुष, ५ जना बालबालिका र ४५ जना ज्येष्ठ नागरिक रहेका छन्। शिविरमा विरामीहरुमा उच्च रक्तचाप, मधुमेह, दीर्घकालीन श्वासप्रश्वास सम्बन्धी रोग, ग्यास्ट्राइटिस, झाडापखाला, संक्रमण, चोटपटक लगायतका समस्याहरु देखिएका थिए। साथै केही सेवाग्राहीलाई मनोसामाजिक परामर्श समेत दिइएको थियो।
उक्त शिविरहरुमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको उच्च नेतृत्वबाट स्थलगत अनुगमन समेत भएको थियो।



