मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

टोखामा डेँगु तथा औलो नियन्त्रण सचेतना कार्यक्रम

टोखामा डेँगु तथा औलो नियन्त्रण सचेतना कार्यक्रम

images
२०८३ बैशाख १७ गते, बिहिवार
२०८३ बैशाख १७ गते, बिहिवार
  • काठमाडौँ। ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको सहकार्यमा टोखामा डेँगु तथा औलो नियन्त्रण सचेतना कार्यक्रम आयोजना गरिएको छ।

    images

    वर्षायामको सुरुवातसँगै लामखुट्टेको टोकाइबाट सर्ने डेँगु र औलो जस्ता प्राणघातक रोगको जोखिम बढ्ने भएकाले टोखा–६ का बासिन्दालाई पूर्वसतर्कता अपनाउनका लागि उक्त कार्यक्रम आयोजना गरिएको हो।

    images

    कार्यक्रममा बोल्दै टोखा वडा नम्बर ६ की वडाअध्यक्ष शान्ता पौडेल खनालले विगतका वर्षमा डेंगुले निम्त्याएको समस्या र पहिले उन्मूलन भइसकेको भनिएको औलो रोग फेरि देखा पर्न थालेकोमा चिन्ता व्यक्त  गरे।

    “वर्षा सुरु भएसँगै लामखुट्टेको टोकाइबाट हुने समस्या बढ्छन्, हामीले टायर, ग्यारेज, होटलका ड्रमहरू र पानी जम्ने ठाउँहरूमा विशेष ध्यान दिनुपर्छ,” उनले भने। 

    कार्यक्रममा ग्राण्डी अस्पतालका इन्टरनल मेडिसिन डा. प्रशान्त त्रिपाठीले गर्मी मौषम सुरु भएसँगै डेँगु, मलेरियालगायतका रोगको प्रकोप बढ्ने भएकाले सरसफाईमा विशेष ध्यान दिन आग्रह गरे।

    उनले आफ्नो घर वरपर पानी जम्न नदिने, पुराना टायर र भाँडामा पानी जम्मा हुन नदिने र सरसफाइमा ध्यान दिनुपर्ने बताए। डा त्रिपाठीले डेँगु ‘एडिस’ जातको लामखुट्टेले सार्ने गरेको बताए। उक्त लामखुट्टे विशेषगरी दिउँसो, बिहान झुल्के घाम र साँझपख बढी सक्रिय हुने गरेको उनको भनाई थियो।

    डेँगुको मुख्य लक्षणमा उच्च ज्वरो आउनु, आँखाको गेडी दुख्नु, अत्यधिक कमजोरी महसुस हुनु र हड्डी नै भाँच्चिएको जस्तो गरी ढाड र जोर्नी दुख्नु रहेको डा त्रिपाठीले बताए।

    उनले मलेरिया (औलो) ‘एनोफिलिस’ नामको लामखुट्टेले सार्ने परजीवी रोग भएकाले यसबाट जोगिनु आवश्यक रहेको बताए। औलोको लक्षणमा कामज्वरो आउनु, अत्यधिक पसिना आउनु, टाउको दुख्नु र कमजोरी हुनु रहेको उनले बताए।

    डा त्रिपाठीले डेँगु र मलेलियाबाट बच्न पानी जम्न नदिने, सुत्ने बेला अनिवार्य झुलको प्रयोग गर्ने, शरीर पूरै ढाकिने गरी पूरा बाहुला भएका लुगा लगाउने र लामखुट्टे धपाउने क्रिम वा स्प्रे प्रयोग गर्ने रहेको बताए। यस्तै, सामुदायिक सरसफाइमा विशेष ध्यान दिनुपर्ने उनको भनाई थियो।

    उनले दुई दिनभन्दा बढी समयसम्म उच्च ज्वरो आएमा, लगातार वान्ता भएमा, असाध्यै पेट दुखेमा वा शरीरबाट रगत बगेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नसमेत अनुरोध गरे।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend