काठमाडौँ। नेपाली कांग्रेस भित्रको डा. शेखर कोइराला समुहले पार्टीको क्रियाशिल सदस्यता नवीकरण पुनः अध्यावधिक गर्न जरुरी नभएको अडान लिएको छ।
बिहीबार बालुवाटारस्थित ओपेरा होटलमा कोईराला समूहले बागमती प्रदेश स्तरीय छलफल आयोजना गरेको थियो।
सो छलफलकाक्रममा धारणा राख्ने अधिकांश नेताहरूले क्रियाशिल सदस्यता नवीकरण भैसकेको अवस्थामा पुनः अध्यावधिक गर्न जरुरी नभएको अडान लिइनु पर्ने धारणा राखेका हुन्। अहिले आएर सदस्यता अध्यावधिक व्यवहारीक नभएको उनीहरुको तर्क थियो।
उनीहरुले विशेष महाधिवेशनकै कारण पार्टीमा एकता कायम हुन नसकेको भन्दै पार्टी नेतृत्व प्रतिसमेत असन्तुष्टि जनाएका छन्। धारणा राख्ने केही नेताले भने पार्टी एक बनाएर लैजाने सम्पुर्ण जिम्मेवारी सभापतिकै रहेको राय राखेका छन्।
छलफलमा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने कांग्रेस केन्द्रीय पुर्वपदाधिकारी एवं पुर्व केन्द्रीय सदस्यहरु, जिल्ला सभापति र पुर्व सभापति, सांसद र पुर्वसांसद, प्रदेश सांसद, बागमती प्रदेश कार्यसमितिका पदाधिकारी एवं सदस्य, लगायत सहभागी थिए।
देश र पार्टीको पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै रणनीति तयार गर्ने उद्देश्यले सुझाव लिन छलफल आयोजना गरिएको सो समूहका नेताहरूको दाबी छ।
सो छलफलमा नेताहरु डा. शशांक कोइराला, बलबहादुर केसी, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, एनपी साउद, दिपक गिरी, संजय गौतम, शिब हुमागाँई, राजिव कोइराला, टेकप्रसाद गुरुङ, उमेशजंग रायमाझी, डा. गोविन्दराज पोख्रेल, किरण यादव, गणेश लामा, संघीय सांसदहरु डा. चन्द्रमोहन यादव, उर्मिला थपलिया र गिता देवकोटा, कांग्रेस बागमती प्रदेश समिति महामन्त्री राजु श्रेष्ठ लगायत सहभागी थिए।



