मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

स्वास्थ्य संस्था भित्र अनुमति नलिइ फोटो तथा भिडियो खिच्न नपाइने

स्वास्थ्य संस्था भित्र अनुमति नलिइ फोटो तथा भिडियो खिच्न नपाइने

images
२०८३ बैशाख १७ गते, बिहिवार
२०८३ बैशाख १७ गते, बिहिवार
  • काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्था भित्र सम्बन्धित संस्थाको अनुमति नलिइ फोटो/भिडियो नखिच्न र प्रकाशन तथा प्रसारण नगर्न आग्रह गरेको छ।

    images

    मन्त्रालयले बुधबार एक विज्ञप्तिमा जारी गर्दै उल्लेखित कार्य गरे गराएमा प्रचलित कानुन बमोजिम कार्वाही हुने चेतावनी दिएको हो। त्यस्ता कार्यले बिरामीको गोपनीयताको हनन हुनका साथै संवेदनशील क्षेत्रमा अशान्ति फैलिन गई समग्र उपचार प्रक्रियामा नै गम्भीर असर परेको मन्त्रालयले दाबी गरेको छ।

    images

    मन्त्रालयले सो विज्ञप्तिमा विषयको व्यहोरा भने `अस्पताल/स्वास्थ्य संस्था भित्र हातपात, तालाबन्दी, तोडफोड लगायत कानुन विपरित गतिविधि नगर्न/नगराउन सम्बन्धमा´ भन्दै उल्लेख गरेको छ।

    विज्ञप्तिमा भनिएको छ, ``पछिल्लो समयमा केही व्यक्तिहरुले अस्पताल तथा स्वास्थ्य संस्था परिसरभित्र स्वीकृति बिना प्रवेश गरी बिरामी र स्वास्थ्यकर्मीहरुको फोटो तथा भिडियो खिच्ने, अन्तर्वार्ताको नाममा भिडभाड गर्ने र स्वास्थ्य उपचारमा खटिएका चिकित्सक तथा कर्मचारीहरुको कार्यसम्पादनमा अवरोध पुर्‍याउने गरेको गुनासो यस मन्त्रालयमा प्राप्त भएको छ। यस प्रकारको कार्यले बिरामीको गोपनीयताको हनन हुनका साथै संवेदनशील क्षेत्रमा अशान्ति फैलिन गई समग्र उपचार प्रक्रियामा नै गम्भीर असर परेकोप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ।´´

    अस्पताल जस्तो संवेदनशील क्षेत्रमा स्वीकृति बिना भिडियो बनाउने, चिकित्सक तथा कर्मचारीलाई अमर्यादित तवरले प्रस्तुत हुने वा अनुचित दबाब दिने कार्य प्रचलित कानुनको ठाडो उल्लंघन रहेको पनि मन्त्रालयले दाबी गरेको छ।

    "स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६" को दफा ३ ले उपचारमा बाधा पर्न नदिने स्पष्ट व्यवस्था गरेको छ। सोही दफाको खण्ड (च) मा "स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई हातपात गर्ने, कुनै किसिमले धक्का दिने, गाली गलौज गर्ने वा अमर्यादित वा अपमानजनक व्यवहार गर्न नपाइने" स्पष्ट कानुनी व्यवस्था रहेको सूचनामा उल्लेख छ।

    साथै मुलुकी अपराध संहिता २०७४ को दफा २९५ मा ``अनुमति बिना कुनै व्यक्तिको तस्बिर खिच्न नहुने भन्ने व्यवस्था रहेकोमा अस्पताल/स्वास्थ्य संस्था परिसरभित्र सम्बन्धित संस्थाको अनुमति नलिई फोटो/भिडियो खिच्न तथा प्रकाशन/प्रसारण नगर्नुहुन सम्बन्धित सबैमा अनुरोध छ।´´ मन्त्रालयले भनेको छ।

    उक्त कानुनको बर्खिलाप हुने गरी कसैले उल्लिखित कार्य गरे/गराएमा प्रचलित कानुन बमोजिम कारवाही हुने व्यहोरा स्मरण गराइएको साथै सूचनाको बेवास्ता गरी यस्ता गैरकानुनी कार्य गरे/गराएको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारवाही गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायहरुलाई जानकारी दिइसकेको व्यहोरा विज्ञप्तिमा उल्लेख गरिएको छ।

    यस्तै चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य सेवा प्रदायक संस्थाबाट उपचारको क्रममा कमी कमजोरी भएको महसुस भएमा सम्बन्धित निकायमा उजुरी गरी सो को तथ्यपरक छानबिन र सम्बोधन गर्ने प्रावधान रहेको समेत जानकारी विज्ञप्तिमा भनिएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend