काठमाडौ। आजबाट कक्षा १२ को परीक्षा सुरु भएको छ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ।
आजदेखि सुरु हुने कक्षा १२ को परीक्षामा ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। परीक्षा ७७ वटै जिल्लामा एकैसाथ सञ्चालन हुनेछ।
यसवर्ष नियमिततर्फ ३ लाख ३२ हजार १७८ जना र आंशिकतर्फ ८५ हजार ८३० जना विद्यार्थी सहभागी हुने छन्।
आंशिक तर्फको परीक्षामा भने २०७९ यताका विद्यार्थी सहभागी हुने परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए।
परीक्षाको पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको नयाँ र पुरानो कोर्स तथा ग्रेड वृद्धिको परीक्षा हुनेछ। सोही दिन नयाँ कोर्सको संस्कृत रचना, बौद्ध शिक्षा र उर्दू व्याकरण तथा पुरानो कोर्सको अनिवार्य वैकल्पिक संस्कृत रचनाको पनि परीक्षा हुने कार्यतालिकामा उल्लेख छ।
वैशाख २७ गते सम्पन्न हुने परीक्षामा अनुपस्थित हुने परीक्षार्थीका लागि पुनः अर्को परीक्षाको व्यवस्था भने नगरिने बोर्डले जनाएको छ।



