मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

बढ्दो मानसिक स्वास्थ्य समस्या समाधानका लागि काठमाडौँ महानगरपालिकाले थाल्यो विज्ञसँग छलफल

बढ्दो मानसिक स्वास्थ्य समस्या समाधानका लागि काठमाडौँ महानगरपालिकाले थाल्यो विज्ञसँग छलफल

images
२०८३ बैशाख ११ गते, शुक्रवार
२०८३ बैशाख ११ गते, शुक्रवार
  • काठमाडौँ । मानसिक स्वास्थ्यमा बढ्दै गएको समस्या पहिचान, जोखिम न्यूनीकरण, निदान तथा उपचारका लागि महानगरपालिकाले विज्ञ तथा क्षेत्रगत प्रतिनिधिसँग छलफल गरेको छ।

    images

    महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा शुक्रबार विज्ञ तथा क्षेत्रगत प्रतिनिधिसँग छलफल आयोजना गरिएको हो।

    images

    सो क्रममा मानसिक स्वास्थ्यप्रति व्यक्तिगत तथा पारिवारिक दृष्टिकोण, समस्या भएका व्यक्तिलाई सहयोग गर्ने तत्परता, यसको व्यवस्थापनसँग सम्बन्धित कानुनी दायित्व, सामाजिक अवस्था, प्राज्ञिक तथा सरोकारवालाको भूमिकाबारे छलफल भएको महानगरपालिकाले जनाएको छ। 

    छलफलमा कार्यवाहक प्रमुख डंगोलले, व्यक्ति र परिवारमा सानासाना कुराले पनि ठुलो पिरालो गरेको बताउँदै यही पिरोलोका कारण व्यक्तिहरु मानसिक समस्यामा रहेको बताइन्।

    ‘विवाहपछि महिलाहरुको जिम्मेवारी, उनीहरुप्रति परिवार र समाजको अपेक्षा, यस क्रममा गर्भवती हुने अवधि, सुत्केरी र त्यसपछिको एक वर्षमा धेरै ठुलो मानसिक समस्या भोग्नु पर्ने, यसै कारण जीवन नै अन्यत्र मोडिने अवस्था छ। यो एउटा उदाहरण हो। यस्तो अरु पनि अवस्था छन्। यस्ता अवस्था पुरुषहरुमा पनि छन्।’ उनले समस्या समाधानको उपायका विषयमा कुरा गर्दै भनिन्, ‘शारीरिक रुपमा देखिएको रोगलाई सबैले स्वीकार गरेर उपचार गराउने तर, मानसिक रोगलाई स्वीकार नगरी रोग भएको व्यक्ति झन् पीडित भएर बस्नु पर्ने अवस्थामा सुधार गर्नु अहिलेको पहिलो आवश्यकता हो । यो सुधारका लागि मिलेर काम गरौँ।’

    ‘महानगरपालिकाले अहिले अभ्यास गरेको स्वास्थ्य प्रवर्धनका कार्यक्रममा मानसिक स्वास्थ्य सम्बन्धी सेवालाई कहाँ जोड्न सकिन्छ? जोडिएका कम्पोनेन्टहरुलाई कसरी प्रभावकारी सञ्चालन गर्न सकिन्छ। यसका लागि प्राज्ञिक क्षेत्रबाट सुझाव चाहिएको छ।’ स्वास्थ्य विभागका प्रमुख दिपककुमार के. सी. ले भने, ‘विज्ञ, अनुसन्धाता, प्राज्ञिक र व्यवस्थापनका क्षेत्रमा काम गर्ने व्यक्तित्वहरुबाट पृष्ठपोषण लिएर मानसिक स्वास्थ्य सुधारका काम गर्नेछौँ।’

    वैठकमा प्रा.डा. रवि शाक्य, डा. सुरज प्रधान, डा. ऋषभ कोइराला, पिताम्बर कोइराला, रमेश खड्का, श्रेया गिरी, प्रमिला वस्ती, मातृका देवकोटासहित क्षेत्रगत विशेषज्ञले धारणा राखेका थिए।

    उनीहरूले मानसिक रोगलाई व्यक्तिगत समस्या मानेको, व्यक्तिको अयोग्यताको सूचक मानिएको, सामाजिक लाञ्छना लाग्ने गरेको, मानसिक रोगको समस्यालाई व्यक्ति एक्लैले सामना गर्नु परेको अवस्थाबाट सुधार गर्नु पर्ने विषयलाई साझा मतका रुपमा राखेका थिए। 

    बारम्बार निराश हुनु, आफू फन्दामा परेको ठान्नु, मादक पदार्थ र लागू औषधको सेवन बढ्नु, छट्पटी र व्याकुलता बढ्नु, निद्रामा गडवडी हुनु, कसैसँगको भेट वा सामाजिक सञ्जालमा निराशाका कुरा लेख्नु, चाँडो रिसाउनु, हेलचेक्याइँ पूर्ण व्यवहार गर्नु, मेरो भविष्य केही छैन भन्नु, आफ्ना सामान अरुलाई जथाभावी बाँड्नु, भोज भतेर वा भेटघाटमा रुचि नहुनु, साथीभाइ र परिवारसँग टाढिनु मानसिक स्वास्थ्यमा खरावी आउँदाका लक्षण हुन्।

    वैठकमा विद्यालय उमेरका बालबालिकामा मानसिक समस्याका विषयमा छलफल गर्दै शिक्षा र जानकारीको अभावमा मानसिक स्वास्थ्य पहिचानका लागि सबैभन्दा ठुलो चुनौती रहेको बताइयो। मानसिक स्वास्थ्य सुधारका लागि विद्यालय स्तरको पाठ्यक्रममा मानसिक स्वास्थ्य सम्बन्धी ज्ञान समावेश गर्न सके सचेतनाका एउटा महत्वपूर्ण अध्याय पूरा हुनेछ विज्ञहरुले सुझाव थियो।

    यससँगै मनोसामाजिक परामर्श, जोखिमपूर्ण मानसिक समस्याका व्यक्तिहरुको उद्धार, हेरचाह, मनोसामाजिक परामर्श तथा फर्माकोलोजिक थेरापीसहितको उपचार र पुनःस्थापना संयन्त्र बनाउन महानगरपालिकालाई सुझाव दिइएको छ।

    सन् २०२२ मा विश्व स्वास्थ्य संगठनले जारी गरेको प्रतिवेदन अनुसार हरेक ८ जनामध्ये १ जना व्यक्तिमा मानसिक समस्या छ। विकासोन्मुख र मध्यम आय भएका देशमा बस्ने नागरिकहरुमा यसको भार धेर छ। व्यक्तिलाई अपाङ्गता बनाउने १० वटा प्रमुख कारणमध्ये मानसिक स्वास्थ्यसँग सम्बन्धित २ वटा कारण छन्। यी कारणहरु डिप्रेसिभ डिस्अडर्स दोस्रो स्थानमा छ। यस्तै एन्जाइटी डिस्अडर्स छैटौँ नम्बरमा छ।

    यस्तै समस्यासँग जोडिएको आत्महत्याको समस्या पनि नेपालमा बढ्दो क्रममा छ। नेपाल प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष (सन्) २०२३/०२४ मा नेपालभरि ७ हजार ३९९ व्यक्तिले आत्महत्या गरे। यो संख्या अघिल्लो वर्ष (२०२२/०२३) मा ६ हजार ९९३ थियो। यो मानसिक स्वास्थ्यले निम्त्याएको मानवीय क्षति हो।

    नेपालमा मानसिक स्वास्थ्य सेवालाई ख्याल नै गरिँदैन। स्वस्थ्य जीवनका लागि शारीरिक, मानसिक र सामाजिक अवस्था राम्रो हुनुपर्छ। शारीरिक अवस्था राम्रो भएर मात्र पुग्दैन। यसकारण महानगरपालिकाले तर्जुमा गर्न लागेको मानसिक स्वास्थ्य नीति समय सान्दर्भिक देखिन्छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend