काठमाडौँ। नेपाली कांग्रेसले सुकुम्बासी समस्या कुनै एक दल वा समूहको मात्र नभएर समग्र राष्ट्रको साझा समस्या भएको बताउँदै सो समस्याको समाधान विधिको शासनको पूर्ण पालना गर्दै खोजिनु पर्ने स्पष्ट पारेको छ।
पार्टी सभापति गगनकुमार थापाको अध्यक्षतमा केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमार्फत कांग्रेसले सुकुम्बासी समस्या बारे आफ्नो धारणा सार्वजनिक गरेको हो। कांग्रेसले वास्तविक सुकुम्बासी छुट्याउने तर्फ सरकार नलागेर आफ्नो दायित्व निर्वाह नगरी बल प्रयोग मार्फत समस्या समाधान खोज्नु शासन सञ्चालनको अपरिपक्व र अविवेकी शैली भएको पनि भनेको छ।
कांग्रेसले सुकुम्बासी समस्याको समाधानका लागि सम्मानित अदालतबाट भएका आदेशहरू तथा विगतका संसदीय समितिहरूका निर्णयहरूलाई मार्गदर्शक मान्दै सरकार अघि बढ्नु पर्ने पनि सुझाएको छ।
`सुकुम्बासी समस्याको दीर्घकालीन समाधानप्रति सबै राजनीतिक दलहरू प्रतिबद्ध रहेको तथ्य सर्वविदितै छ। नेपाली कांग्रेसले आफ्नो प्रतिज्ञापत्रमार्फत यस विषयमा स्पष्ट दृष्टिकोण र समाधानका आधारहरू सार्वजनिक गरिसकेको छ। यो कुनै एक दल वा समूहको मात्र होइन, समग्र राष्ट्रको साझा समस्या हो, जसको समाधान विधिको शासनको पूर्ण पालना गर्दै खोजिनु अनिवार्य छ।´ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, `यस सन्दर्भमा, सम्मानित अदालतबाट भएका आदेशहरू तथा विगतका संसदीय समितिहरूका निर्णयहरूलाई मार्गदर्शक मान्दै सरकार अघि बढ्नुपर्दछ। बल प्रयोगभन्दा अघि समाधानको विवेकपूर्ण, न्यायोचित र मानवीय उपाय अवलम्बन गरिनु आवश्यक छ।´
कांग्रेसले सबैभन्दा पहिले, वास्तविक सुकुम्बासी को हुन् र को होइनन् भन्ने स्पष्ट पहिचान सुनिश्चित गरिनु पर्ने पनि बताएको छ। `वास्तविक सुकुम्बासीलाई जमिन र आवास उपलब्ध गराउनु केवल नीतिगत दायित्व मात्र होइन, यो उनीहरूको मौलिक अधिकारको संरक्षणसँग जोडिएको संवैधानिक कर्तव्य हो। यो गरेपछि सुकुम्बासीको नाममा गलत फाइदा लिइरहेकाहरूलाई कानुन बमोजिम व्यवहार गर्ने बाटो खुल्छ।´ कांग्रेसले भनेको छ।
आफ्नो दायित्व निर्वाह नगरी बल प्रयोग मार्फत समस्या समाधान खोज्नु शासन सञ्चालनको अपरिपक्व र अविवेकी शैली भएको कांग्रेसको ठहर छ।
`त्यसैले सरकारसँग हाम्रो स्पष्ट आग्रह छ—संवेदनशीलता, कानुनी आधार र न्यायपूर्ण दृष्टिकोणका साथ यस समस्याको दिगो समाधानतर्फ अग्रसर होस्।´



