काठमाडौँ। नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघका नेताहरूलाई पक्राउ गरिएको घटनाप्रति रोष प्रकट गरेको छ।
नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य ईं. भुवन भट्ट, विद्यार्थी नेताहरु कुम्भराज देउवा, नविन विष्ट, आकाश देवकोटा, शुशील ऐडी र विशाल वि.सी लगायतका नेताहरूलाई पक्राउ गरी थुनामा राखिएको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
कांग्रेस प्रवक्ता देवराज चालिसेद्वारा जारी विज्ञप्तिमा, `लोकतान्त्रिक शासन व्यवस्थामा वाक तथा प्रकाशनको स्वतन्त्रता, शान्तिपूर्ण रूपमा हिडडुल गर्ने अधिकार तथा विरोध वा असहमति व्यक्त गर्ने स्वतन्त्रता नागरिकका मौलिक अधिकार भएको भन्दै यस्ता अधिकारहरूको सम्मान र संरक्षण गर्नु राज्यको संवैधानिक तथा नैतिक दायित्व भएको´ भनिएको छ।
विज्ञप्तिमा भनिएको छ, `यस्ता अधिकारहरूको प्रयोगका क्रममा नागरिकलाई पक्राउ गरी थुनामा राख्ने कार्यले लोकतन्त्रको आधारभूत मूल्य, विधिको शासन तथा नागरिक स्वतन्त्रताको प्रत्याभूतिमाथि गम्भीर प्रश्न खडा गर्दछ। असहमतिलाई नियन्त्रण गर्ने र दमन गर्ने सरकारको यस्तो शैली लोकतान्त्रिक मान्यता एवं संविधानको मर्म विपरीत छ। नेपाली कांग्रेस स्पष्ट रूपमा विश्वास गर्दछ कि असहमति र विरोध लोकतन्त्रको अभिन्न अङ्ग हुन्, जसलाई दमन गर्ने होइन, संवाद र सहकार्यका माध्यमबाट सम्बोधन गरिनुपर्छ।´
कांग्रेसले नेविसंघका नेताहरूलाई विना शर्त तत्काल रिहा गर्न र भविष्यमा नागरिकहरूको मौलिक अधिकारमाथि कुनै प्रकारको अतिक्रमण गर्ने कार्य वन्द गर्न पनि सरकारलाई चेतावनी दिएको छ।



