काठमाडौँ। देशभर ५ वर्षमुनिका बालबालिकाहरुलाई आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ।
नेपाल सरकारको अभियान अन्तर्गत बैशाख ६–७ गते देशभरका ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियान सञ्चालन भईरहेको छ।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको पोषण शाखाका प्रमुख लिलाविक्रम थापाले राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका करिव २२ लाख बालबालिकालाई खुवाइने जानकारी दिए।
यस्तै एक वर्षदेखि पाँच वर्ष मुनिका करिव २० लाख बालबालिकालाई जुकाको औषधी पनि खुवाइँदै छ। यो अभियानका लागि करिव ५२ हजार महिला स्वास्थ्य स्वयम्सेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिएको छ।
भिटामिन `ए´ को कमीबाट हुने समस्याको रोकथाम तथा उपचारको लागि सरकारले वि.स २०५० सालमा ८ जिल्ला बाट यो अभियान सुरु गरेको थियो। राष्ट्रिय भिटामिन कार्यक्रमलाई वि.स २०५९ सालदेखि देशभरि नै लागु गरिएको थियो।
यस्तै जुका नियन्त्रण तथा रोकथामको लागि २०५६ सालबाट १३ जिल्लाबाट शुरु गरिएको जुकाको औषधी खुवाउने कार्यक्रम २०६७ बाट सवै जिल्लामा लागु गरिएको थियो।
सरकारले प्रत्येक आर्थिक बर्षमा कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधी बालबालिकालाई निःशुल्क खुवाउँदै आएको छ।



