काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दै छ। बैठकका लागि मुख्य ६ वटा एजेन्डा तय गरिएको छ।
रास्वपा सभापति रवि लामिछानेले आज दिउँसो साढे ३ बजे वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा सचिवालय बैठक बोलाएका हुन्।
रास्वपाका प्रवक्ता मनिष झाका अनुसार बैठकमा जिल्ला अधिवेशन कार्यविधि २०८३, पार्टीको आर्थिक पारदर्शिता र व्यवस्थापनका लागि बैंक खाता सञ्चालन, केन्द्रीय आयोग, सल्लाहकार परिषद्, संघीय नेतृत्व मञ्च र विभागहरूको मनोनयनको विषयमा छलफल हुने छ ।
यस्तै, बैठकमा महाधिवेशन कार्यविधि मस्यौदा समिति गठन, विज्ञहरू, योजना लगायतका विविध विषयमा छलफल हुने रास्वपा प्रवक्ता झाले जानकारी दिए।
बैठकमा प्रतिनिधिसभा सदस्यहरूको संगठनात्मक जिम्मेवारी बाँडफाँट, आगामी केन्द्रीय समिति बैठकको तयारी र संसदीय दलका लागि आवश्यक प्राविधिक सहायता एवं लेवीका विषयमा पनि विस्तृत छलफल हुने बताइएको छ।



