काठमाडौ। नेपालको विद्युत बंगलादेश निर्यात गर्नका लागि १७ असोजमा नै सहमति भए पनि भारतले ठोस निर्णय नदिंदा अनिश्चित बनेको निर्यात आजबाट सुरु हुँदै छ। नेपालबाट ४० मेगावाट विद्युत् बंगलादेश निर्यात हुने कार्यक्रमको उद्घाटन भर्चुअल रूपमा तीन देशका ऊर्जामन्त्रीले गर्दै छन्।
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्का, बंगलादेशको वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसन र नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तवको उपस्थितिमा काठमाडौंमा आयोजित एक समारोहकाबिच विद्युत् खरिद बिक्री सम्वन्धि सम्झौतापत्रमा १७ असोजमा नै हस्ताक्षर भएको थियो।
सम्झौतामा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बंगलादेशको पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) का अध्यक्ष मोहम्मद रिजवान करिम र भारतको एनटीपीसी विद्युत् व्यापार निगमकी सीईओ डेइनो नारानलेसमेत हस्ताक्षर गरेका थिए।
अहिले भारतको केन्द्रीय विद्युत् नियमन आयोग (सीईआरसी) ले नेपाललाई ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्न अनुमति दिएपछि नेपालबाट पहिलोपटक विद्युत् तेस्रो मुलुक निर्यात हुन लागेको हो।
नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दन घोषले शुक्रबार मध्याह्न १२ बजेर ४५ मिनेटमा बंगलादेशमा विद्युत् निर्यातक लागि उद्घाटन हुने जानकारी दिए। तर आज एक दिन निर्यात भएपछि भोलिबाट भने निर्यात २०२५ नलाग्दासम्म रोकिने छ। आज राती १२ बजेसम्म अर्थात करिब ११ घण्टा मात्रै बंगलादेशलाई विद्युत दिइने छ। यो समयमा ३८ लाख ३२ हजार ४ सय रुपैयाँ नेपाललाई प्राप्त हुने प्रवक्ता घोषले जानकारी दिए।
तीन देशबिचको सम्झौतामा नै नेपालको विद्युत् निर्यात गर्न भारतको सीईआरसीको अनुमति आवश्यक पर्ने सम्झौतामै उल्लेख छ। सुरुमा १६ कात्तिकदेखि विद्युत् निर्यात गर्ने मौखिक सहमति भएको थियो। तर सीईआरसीको अनुमति नहुँदा हुन पाएन। यस्तै २३ कात्तिकबाट निर्यात गर्ने तयारीसमेत भएकोमा सो मितिमासमेत निर्यात हुन नसक्दा सम्झौता भएपनि अन्योल थियो।
त्रीदेशीय सम्झौतामा नेपालले १५ जुनदेखि १५ नोभेम्बरसम्म ४० मेगावाट विद्युत बंगलादेश निर्यात गर्ने उल्लेख छ। यस वर्षको अर्थात २०२४ को आजै १५ नोभेम्बर हो।यसअघि नेपालबाट भारतमा मात्रै बिजुली निर्यात गरिएको थियो।
नेपाल विद्युत् प्राधिकरणले करिब ८ रुपैयाँ ६४ पैसा प्रतियुनिट (६.४० अमेरिकी सेन्ट) का दरले बंगलादेशको बीपीडीबीलाई विद्युत् निर्यात गर्ने सम्झौतापत्रमा उल्लेख छ। सम्झौता अनुसार बिजुली निर्यातबात मुलुकलाई प्रतिमहिना करिब ३३ करोड आम्दानी हुने छ।
प्राधिकरणका अनुसार १५ जुनदेखि १५ नोभेम्बरको कुल ५ महिनामा १ लाख ४४ हजार मेगावाट आवर बिजुली निर्यात हुने छ । प्रतियुनिट ६.४० अमेरिकी सेन्टका दरले ५ महिनामा ९२ लाख १६ हजार अमेरिकी डलर नेपाललाई आम्दानी हुने छ।
सम्झौता अनुसार बंगलादेश निर्यात् हुने विद्युत् नेपालले भारतीय प्रसारण लाइनको प्रयोग गरी वर्षायाममा बंगलादेश पठाउने छ। वर्षायाममा पठाइने सम्झौतामा नै उल्लेख भएका कारण आज एक दिन उद्घाटन मात्रै गरेर अर्को वर्ष २०२५ मा निर्यात गरिने भएको हो।
यसअघि गत असारमा नै सो सम्झौता गर्ने तयारी भएको थियो तर बंगलादेशमा बदलिएको राजनीतिक अवस्थापछि सम्झौतामा केही ढिलाइ हुँदै आएको थियो। बंलादेशमा भएको राजनीतिक परिवर्तनपछि पुनः बिजुली खरिद बिक्री सम्वन्धि प्रक्रिया अघि बढाइएको थियो।
त्योभन्दा अघि दुई देशका ऊर्जा सचिस्तरीय संयुक्त निर्देशक समितिको छैटौँ बैठकले सम्झौता गर्ने निणर्य गरेको थियो। सचिवस्तरीय संयन्त्रमा नेपालको तर्फबाट ऊर्जासचिव सुरेश आचार्य र जनगणतान्त्रिक बंगलादेश सरकारका तर्फबाट विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयका वरिष्ठ सचिव मोहम्मद हबिवुर रहमानको सहअध्यक्षता थियो।
नेपाल र भारतबीच विद्युत् आयात निर्यातका लागि हाल सञ्चालनमा रहेको ढल्केबर-मुजफ्फरपुर अन्तरदेशीय लाइन हुँदै भारतीय भूमिमा रहेको बहरामपुर-भेरमारा ४ सय केभी प्रसारण लाइन हुँदै बिजुली बंगलादेश जानेछ। प्राधिकरणले तोकिएको मूल्य भारतको मुजफ्फरपुर बिन्दुमा पाउनेछ। भारतको मुजफ्फरपुर बंगलादेशलाई बेचिने बिजुलीका लागि मीटर जडान हुनेछ। प्रसारण लाइनको ढल्केबर-मुजफ्फरपुरबीचको प्राविधिक चुहावट भने प्राधिकरणले नै व्यहोर्ने छ।
बंगलादेश सरकारले सन् २०४० सम्म नेपालबाट नौ हजार मेगावाट बिजुली लैजाने यसअघि नै घोषणा गरिसकेको छ। नेपाल र भारतबीच पनि १० वर्षमा १० हजार बिजुली निर्यात गर्नेसम्बन्धी दीर्घकालीन सम्झौता भइसकेको छ।
गत १३ साउनमा नेपाल, भारत र बंगलादेशका ऊर्जामन्त्रीको उपस्थितिमा त्रिपक्षीय सम्झौताको तयारी गरिएको थियो। तर दुईअहिना पछि असोजमा सम्झौता भयो। त्यसअघि नेपाल र बंगलादेशबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी द्विपक्षीय समझदारीमा २०७५ सालमा नै हस्ताक्षर भैसकेको थियो। सम्झौता कार्यान्वयन भएमा प्राधिकरणले वर्षायाममा बिजुली बिक्री गरेर रु १ अर्ब २३ करोड बराबर आम्दानी हुने प्रक्षेपण गरेको छ।



