मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

स्वास्थ्य मन्त्रालयले भन्यो : स्वास्थ्य संस्था पनि शनिबार र आइतबार बिदा

स्वास्थ्य मन्त्रालयले भन्यो : स्वास्थ्य संस्था पनि शनिबार र आइतबार बिदा

images
२०८३ बैशाख ४ गते, शुक्रवार
२०८३ बैशाख ४ गते, शुक्रवार
  • काठमाडौँ। स्वास्थ्य संस्थामा पनि शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिइने भएको छ।

    images

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य संस्थामा पनि दुई दिन शनिबार र आइतबार बिदा दिइने जानकारी दिएको हो।

    images

    यसअघि सरकारले चैत २२ गते मन्त्रिपरिषद् बाट निर्णय गर्दै शनिबार र आइतबार गरि दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। तर स्वास्थ्य मन्त्रालयले भने स्वास्थ्य संस्थाहरू आइतबार बिदा नहुने बताएको थियो। मन्त्रालयको सो निर्णयको चिकित्सक आबद्ध संस्थाहरूले स्वागत र विरोध दुवै गरेका थिए।

    तर शुक्रबार भने मन्त्रालयले अस्पतालको आकस्मिक सेवा (इमर्जेन्सी) र अन्तरङ्ग सेवा (भर्ना भएका बिरामीको उपचार) भने २४ सै घण्टा सुचारु रहने बताएको छ।

    विज्ञप्तिमा भनिएको छ, “मन्त्रिपरिषद्को निर्णयनुसार २०८२ चैत २२ गते राजपत्रमा प्रकाशित सूचना बमोजिम शनिबार र आइतबार  दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागू भएको सन्दर्भमा स्वास्थ्यकर्मीको मनोबल र हितलाई ध्यानमा राख्दै  बिरामीको निरन्तर हेरचाह सुनिश्चित गर्न, सरकारको  हप्तामा दुई दिन सार्वजनिक बिदा को नीति अनुरूप आइतबारका पूर्वनिर्धारित शल्यक्रिया (ओटी) लगायतलाई बिरामीको सहजता हेरी रिसेड्युल गरी अन्तरङ्ग र आकस्मिक सेवाहरू सधैझै २४ घण्टा सुचारु रहने जानकारी गराइन्छ।”

    मन्त्रालयले बिदाको दिनमा बिरामीले कुनै सास्ती भोग्न नपरोस् भनी अस्पतालले सम्भव भएसम्मका सेवा प्रदान गर्न, उपलब्ध नभएका सेवाका लागि नजिकैको उपयुक्त अस्पतालमा सहज रुपमा रेफर गर्न र एम्बुलेन्स  हरदम तयारी अवस्थामा राख्ने व्यवस्था मिलाउन पनि विज्ञप्तिमार्फत अनुरोध गरेको छ।

    यसैगरी सर्वसाधारणको जानकारीका लागि बिदामा उपलब्ध सेवाको विवरण वेबसाइट तथा सूचनापटीमार्फत  प्रवाह गर्नुपर्ने मन्त्रालयले भनेको छ भने स्वास्थ्य मन्त्रालयको अस्पताल सुधार कार्यविधि २०८२ को पूर्ण पालना गर्दै आगामी दिनमा सङ्गठन तथा व्यवस्थापन (ओएनएम) सर्वे सम्पन्न भएपछि स्वास्थ्य सेवालाई थप सुदृढ र परिमार्जन गर्दै लगिने मन्त्रालयले प्रतिबद्धता जनाएको छ।

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend