काठमाडौँ। नेपाल चिकत्सिक संघको नयाँ नेतृत्व चयन गर्न आज र भोलि काठमाडौं उपत्यका बाहिर मतदान हुँदैछ।
संघको केन्द्रीय कार्यकारिणी समिति(२०८२-२०८५) चयनका लागि निर्वाचन प्रक्रिया अन्तर्गत मतदान सुरु भएको हो। आज विहान ८ बजे देखि सुरु भएको मतदान बेलुका ६ बजेसम्म चल्ने छ। पहिलो चरणमा आज र भोलि उपत्यका बाहिर मतदान हुनेछ। संघको विधानमा १९ सदस्यीय केन्द्रीय कार्यसमिति रहने ब्यवस्था छ।
यसैगरी निर्वाचन समितिले काठमाडौं उपत्यका भित्र वैशाख १७ र १८ गते मतदान हुने तालिका यसअघि नै सार्वजनिक गरीसकेको छ।
संघको नेतृत्वका लागि यस पटकको निर्वाचनमा तीन वटा प्यानल निर्वाचनमा होमिएको छ। निर्वाचनमा डा. मंगल रावल, डा. बद्री रिजाल र डा. नारायण भुषाल प्यानल बनाएरै मैदानमा भिडेका छन्। तीनै समुहबाट गरि कुल ५५ जना चुनावी प्रतिस्पर्धामा रहेको निर्वाचन समिति प्रमुख निर्वाचन अधिकृत डा. प्रणय रत्न शाक्यले जानकारी दिए।
संघको विधानमा अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, प्रत्येक प्रदेशबाट १–१ जना गरी ७ उपाध्यक्ष, महासचिव १, कोषाध्यक्ष १, सहसचिव १, सह-कोषाध्यक्ष १ र सदस्य ६ गरी कुल १९ जनाको केन्द्रीय कार्यसमिति निर्वाचित हुने ब्यवस्था छ।
आज र भोलि उपत्यकाबाहिर विराटनगर (कोशी शाखा कार्यालय, एलाइट क्लब भवन), धरान (बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसर), राजविराज (गजेन्द्र नारायण सिंह अस्पताल), लहान (प्रादेशिक अस्पताल सिरहा), जनकपुर (प्रादेशिक अस्पताल मिटिङ हल) र वीरगंज (नारायणी शाखा कार्यालय भवन) मा मतदान हुँदैछ।
त्यसैगरी, चितवन (भरतपुर अस्पताल तालिम केन्द्र), पोखरा (पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान), बुटवल (लुम्बिनी शाखा कार्यालय, हस्पिटल लाइन), नेपालगंज (भेरी शाखा कार्यालय), धनगढी (सेती प्रादेशिक अस्पताल परिसर), सुर्खेत (प्रादेशिक अस्पताल), दाङ (राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान), जुम्ला (कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान), पाल्पा (लुम्बिनी मेडिकल कलेज), हेटौंडा (हेटौंडा अस्पताल), तनहुँ (जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, दुलेगौँडा), रौतहट (प्रादेशिक अस्पताल गौर) र काभ्रे (शीर मेमोरियल अस्पताल, बनेपा) मा आज र भोलि मतदान हुने छ।
झापाको दमक (लाइफलाइन अस्पताल) मा वैशाख ४ गते मात्रै मतदान हुनेछ भने बिर्तामोड (संजीवनी हार्ट अस्पताल) र डडेलधुरा (डडेलधुरा अस्पताल) मा वैशाख ५ गते मात्रै मतदान हुने निर्वाचन समितिले जनाएको छ।



