काठमाडौँ। नेपाल रेडक्रस सोसाइटी केन्द्रीय तदर्थसमिति, प्रदेश समिति तथा जिल्ला शाखाहरूको संयुक्त समन्वय बैठक सम्पन्न भएको छ।
बिहीबार भृकुटीमण्डप काठमाडौंमा बसेको संयुक्त बैठकमा विधान कार्यान्वयन, निर्वाचन प्रक्रिया तथा संस्थागत सुधारका विषयमा छलफल भएको हो।
बैठकमा जिल्ला सभापतिहरूले आ–आफ्नो धारणा राख्दै संशोधित विधान, निर्वाचन नियमावली तथा निर्देशनहरूले पालिकास्तरको निर्वाचन सम्पन्न गर्न केही चुनौती सिर्जना गरेको उल्लेख गर्दै त्यसलाई व्यवहारिक र सहज बनाउन केन्द्रीय तदर्थसमितिलाई तत्काल आवश्यक सुधार गर्न अनुरोध गरेका छन्।
बैठकमा सबै निकायले विधानको प्रभावकारी कार्यान्वयन, संस्थागत सुधार र संगठनलाई थप सुदृढ बनाउने विषयमा पूर्ण प्रतिबद्ध रहने प्रतिबद्धता पनि व्यक्त भएको छ। सहभागीहरूले नेपाल रेडक्रस सोसाइटीको संस्थागत सुदृढीकरण, पारदर्शिता तथा लोकतान्त्रिक प्रक्रियालाई मजबुत बनाउँदै आगामी निर्वाचन प्रक्रिया सफलतापूर्वक सम्पन्न गर्न सहकार्य गर्ने प्रतिबद्धता जनाएका समेत जनाएका छन्।
बैठकमा केन्द्रीय तदर्थसमितिका अध्यक्ष बिनोद कुमार शर्मा, महामन्त्री मिनबहादुर मल्ल, कोषाध्यक्ष लोकदर्श श्रेष्ठ, बागमती प्रदेश अध्यक्ष भोला नाथ रुपाखेती, उपाध्यक्ष निर्मला थापा, महासचिव रामजी प्रसाद पौडेलको उपस्थिति थियो।
त्यसैगरी जिल्ला शाखाका सभापतिहरु -हरि प्रसाद पौडेल (चितवन), दुर्लभ कुमार तामाङ (धादिङ), पशुराम पाण्डे (भक्तपुर), राजेन्द्रमान ताल्चाभडेल (सिन्धुपाल्चोक), बाबुराज महर्जन (ललितपुर), हरि श्रेष्ठ (नुवाकोट), श्यामकाजी डोटेल (काठमाडौं), देबेन्द्र भैल (काभ्रे) र नरेश प्रसाद सिंह (धनुषा) साथै जिल्ला शाखा मन्त्रीहरु सुमित्रा काफ्ले (मकवानपुर), दिनेश कार्की (ललितपुर) तथा महेश्वर थपलिया (चितवन) लगायत पदाधिकारीहरु सहभागि थिए।
बैठकमा केन्द्रीय तदर्थसमितिको तर्फबाट जिल्ला तथा प्रदेशबाट प्राप्त सुझावहरू आगामी केन्द्रीय समिति बैठकमा पेश गरी आवश्यक निर्णय लिइने जानकारी गराइएको छ।



