काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै छन्।
प्रधानमन्त्री शाहले आज दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्ने तय भएको उनको सचिवालयले जनाएको छ।
बैठकमा केन्द्र सरकार र प्रदेश सरकारका बिच समन्वय र सहकार्य गर्ने विषयमा केन्द्रित हुने बताइएको छ। यसैगरी विकास निर्माणका कार्यलाई तीव्रता दिने, स्रोत–साधनको समुचित बाँडफाँट सुनिश्चित गर्ने तथा प्रदेशहरूले भोगिरहेका विभिन्न प्रशासनिक र आर्थिक समस्याहरू समाधान गर्ने विषयमा बैठक केन्द्रित रहने छ।
यस्तै राष्ट्रिय प्राथमिकताका योजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न केन्द्र र प्रदेशबिच सहकार्य कसरी अझ सुदृढ बनाउने भन्ने विषय पनि बैठकको एजेन्डा रहने सचिवालय बताउँछ।
देशको वर्तमान आर्थिक अवस्था, पूर्वाधार विकास, सेवा प्रवाहमा सुधार तथा सुशासन कायम गर्ने विषयमा साझा समझदारी निर्माण गर्ने प्रयाससमेत बैठकमा हुने अपेक्षा गरिएको छ।
यस बैठकलाई सङ्घीयता कार्यान्वयनलाई थप प्रभावकारी बनाउने र जनतामा प्रत्यक्ष लाभ पुर्याउने दिशामा महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ। शाह प्रधानमन्त्री भएपछि मुख्यमन्त्रीहरुसँगको यो संयुक्त बैठक हो।



