काठमाडौँ। औषधी व्यवस्था विभागको निमित्त महानिर्देशकको जिम्मेवारी शिवानी खड्गीलाई दिइएको छ।
स्वास्थ्य मन्त्री निशा मेहताले मन्त्रीस्तरीय निर्णय गर्दै खड्गीलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएकी हुन्। उनलाई विभागमा अर्को ब्यवस्था नहुँदासम्म आर्थिक तथा प्रशासनिक जिम्मेवारी सम्हाल्न भनिएको छ।
निमित्त महानिर्देशकको जिम्मेवारी पाएकी खड्गी विभागमा नै बरिष्ठ औषधी व्यवस्थापकको रुपमा कार्यरत थिइन्। उनी दशौँ तहकी कर्मचारी हुन्। उनलेे आजैदेखि जिम्मेवारी सम्हालेकी छिन्।
यसअघिका विभागका महानिर्देशक नारायण ढकाललाई भने मन्त्रालय हाजिर गर्ने गरि तानिएको छ। उनलाई गत चैत २६ गते जिम्मेवारीबाट हटाइएको थियो। ढकालमाथि कानून विपरित औषधीको मूल्य निर्धारण गरेको आरोप छ।
स्वास्थ्य मन्त्रालयले आरोपबारे छानविन गर्न गत चैत २७ गते तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो। मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा छानविन समिति गठन भए पनि समितिले हालसम्म काम थालेको छैन।



