काठमाडौँ। नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधि गर्ने 'जरा अभियान' आजबाट सुरु भएको छ। यो अभियानसँगै कांग्रेसको १५ औं महाधिवेशनको कार्य औपचारिक रुपमा सुरु भएको छ।
आज बैशाख १ गते नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आफ्नो वडा काठमाडौँ महानगरपालिका वडा नम्बर ३० मा उपस्थित भएर क्रियाशील सदस्यता अध्यावधि गरेसँगै अभियानको शुभारम्भ भएको हो। यो अभियान वैशाख मसान्तसम्म जारी रहनेछ।
कांग्रेसले १५ औं महाधिवेशनको तयारीसहित संगठनलाई तल्लो तहसम्म नै चलायमान बनाउन ७७ वटै जिल्ला र तल्ला तहमा पुग्ने गरि `जरा अभियान´ सुरु गरिएको जनाएको छ।
अभियान अन्तर्गत १ महिनासम्म जिल्ला हुँदै ६ हजार ७४३ वडामै विविध कार्यक्रम हुनेछ। केन्द्रीय प्रतिनिधिले जिल्ला कार्यसमिति सँगको समन्वयमा वडामा पनि वडा प्रतिनिधि तोकेर कार्यक्रम गर्ने छन्।
कांग्रेस महामन्त्री प्रदीप पौडेलका अनुसार जरा अभियानमार्फत क्रियाशील सदस्यता अद्यावधिक गर्ने, पार्टीको सांगठनिक गतिविधिको विश्लेषण गर्ने, जनतासँग, युवाहरुसँग र पार्टी बाहिरका शुभेच्छुकहरुसँग निर्वाचित प्रतिनिधिको समीक्षात्मक कार्यक्रम गर्ने, सामाजिक र सिर्जनात्मक अभियान सञ्चालन गर्ने तथा स्थानीय सरकार सञ्चालन र आगामी बजेट निर्माणसँग सम्बन्धित मार्ग निर्देशन एवं सहजीकरण गर्ने उद्देश्य कांग्रेसको छ।
यसपटक कांग्रेसले सदस्यता नवीकरणमा नयाँ र कडा व्यवस्था लागू गरेको छ। वैशाख महिनाभित्र केन्द्रदेखि प्रत्येक तहका पार्टी सदस्यले आआफ्नो सम्बन्धित वडामा स्वयं उपस्थित भएर अनिवार्य रुपमा सदस्यता अद्यावधिक गर्नुपर्नेछ। उनीहरूलाई पार्टीले 'कांग्रेस आई डी' दिनेछ। यो परिचयपत्र प्राप्त गर्ने सदस्यहरूले मात्र आगामी असोजमा हुने १५औं महाधिवेशनको प्रक्रियामा सहभागी हुन र मतदान गर्न पाउने छन्।
पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका सबै जिल्लाहरूमा प्रतिनिधिहरूको कार्यविभाजन भई कार्य प्रारम्भ भइसकेको छ।



