भक्तपुर। १३ वर्ष अघि सरकार मातहत रहने गरि स्थापना भएको भक्तपुर स्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एक सातामा औसतमा पाँच देखि छ जनासम्मको मिर्गौला प्रत्यारोपण हुने गरेको छ।
केन्द्रकी कार्यकारी निर्देशक डा. कल्पनाकुमारी श्रेष्ठले सातामा औसतमा पाँच देखि छ जनासम्मको मिर्गौला प्रत्यारोपण हुने गरेको बताइन्। यो केन्द्र मानव अङ्ग प्रत्यारोपण गर्ने उद्देश्यले स्थापित केन्द्र हो।
केन्द्रले पछिल्लो छ महिनाको अवधिमा एक सय जनामा सफल मिर्गौला प्रत्यारोपण गरेको कार्यकारी निर्देशक डा. श्रेष्ठले जानकारी दिइन्।
साँघुरो तथा साना संरचना र स्रोतसाधन सीमित हुँदाहुँदै पनि निरन्तर सेवा विस्तार गरिरहेको केन्द्रले छोटो समयमा नै प्रत्यारोपणमा उल्लेख सफलता हासिल गरेको कार्यकारी निर्देशक डा. श्रेष्ठको भनाइ छ।
केन्द्रमा कार्यकारी निर्देशक डा. श्रेष्ठको नेतृत्वमा युरोलोजिस्ट तथा मिर्गौला प्रत्यारोपण सर्जन डा. दिपेश श्रेष्ठ नेतृत्वको टोलीले प्रत्यारोपण गर्दै आइरहेको छ। केन्द्रबाट हालसम्म एक हजार ६०६ जनामा मिर्गौला तथा ३६ जनामा कलेजो प्रत्यारोपण सम्पन्न भइसकेको छ।
प्रत्यारोपण शल्यचिकित्सक डा. दिपेश श्रेष्ठले चालु आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्ममा दुई सय जना बिरामीको मिर्गौला प्रत्यारोपण गर्ने लक्ष्य लिइएको बताए।
केन्द्रले प्रत्यारोपण सेवामा नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण गरेको, एकै दिन चार जनामा जीवित दाताबाट मिर्गौला प्रत्यारोपण गरिएको, मस्तिष्क मृत्यु भएका व्यक्तिबाट अङ्ग प्रत्यारोपण, एउटै व्यक्तिमा मिर्गौला र कलेजो प्रत्यारोपण तथा एउटै व्यक्तिमा तेस्रो पटक मिर्गौला प्रत्यारोपण जस्ता जटिल र मगत्वपूर्ण उपलब्धि हासिल गरिसकेको छ।
केन्द्रकी कार्यकारी निर्देशक डा. श्रेष्ठले यी उपलब्धि विभिन्न विभागका चिकित्सक तथा स्वास्थ्यकर्मीको समन्वय र निरन्तर प्रयासबाट सम्भव भएको बताउँंदै नेफ्रोलोजी, एनेस्थेसिया, युरोलोजी, कार्डियोलोजी, प्याथोलोजी, रेडियोलोजी, नर्सिङ तथा प्रशासनलगायतका विभागको संयुक्त सहकार्यले सेवा प्रभावकारी बन्दै आइरहेको र केन्द्रमार्फत देशको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुगेको बताइन्।
हाल केन्द्रले अङ्ग प्रत्यारोपणसँगै हेमोडायलाइसिस सेवा देशका सातै प्रदेशमा विस्तार गर्ने काममा पनि सक्रिय भूमिका खेलिरहेको छ। स्रोतसाधन सीमित हुँदा पनि देशभर हुने कुल प्रत्यारोपणमध्ये करिब दुई तिहाइ सेवा यही केन्द्रबाट प्रदान भइरहेको छ। प्रत्यारोपणको नाममा विदेश जाने वार्षिक छ अर्ब रुपियाँ केन्द्रले बचाएको दाबी हुँदै आएको छ।



