काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले वीर अस्पताल र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको आकस्मिक अनुगमन गरेकी छिन्।
सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि स्वास्थ्य संस्थाहरूले उपलब्ध गराएको सेवाको अनुगमनका लागि मन्त्री मेहता अस्पतालको अनुगमनमा पुगेकी हुन्। सो क्रममा उनले अस्पतालले प्रवाह गर्ने सेवाको वास्तविक अवस्था र सर्वसाधारणले भोग्नुपरेका सास्तीबारे जानकारी लिएकी थिइन्।
मन्त्री मेहता कुनै पूर्व जानकारी विना नै अस्पताल पुगेकि हुन्। अनुगमनका क्रममा उनले अस्पतालको सरसफाई, बिरामीको चाप र लामा लाइन, औषधि अभाव तथा स्वास्थ्य बीमामा देखिएका जटिलताका विषयमा प्रत्यक्ष अवलोकन गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
अनुगमनका क्रममा नागरिकहरूले स्वास्थ्य बीमाको लाभ लिन भोग्नुपरेका झन्झट र सामान्य औषधोपचारमा पनि घण्टौँ कुर्नुपर्ने समस्याका बारेमा मन्त्रीले चासो व्यक्त गरेकी थिइन्।
सो क्रममा अस्पताल प्रशासन र सम्बन्धित पदाधिकारीहरूलाई निर्देशन दिँदै मन्त्री मेहताले अस्पतालको सरसफाईमा ध्यान दिन, बिरामीको पालो व्यवस्थापनलाई प्रविधिमैत्री र सहज बनाउन तथा औषधि आपूर्तिमा देखिएका अवरोध तत्काल हटाउन निर्देशन दिइन्।
"जनताले सरकारी अस्पतालमा सेवा पाउँदा झन्झट होइन, राहत महसुस गर्नुपर्छ," भन्दै अनुगमनका क्रममा उनले देखिएका समस्या समाधानका लागि मन्त्रालयले आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन।



