काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साहलाई मन्त्री बनेको १४ दिनमा नै पदमुक्त गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले मन्त्री साहलाई कारबाही गर्न प्रधानमन्त्री शाहलाई पत्र पठाएपछि १४ दिनमा नै श्रम मन्त्री साह कारबाहीमा परेका हुन्।
रास्वपा सभापति लामिछानेले श्रममन्त्री साहले मन्त्री पदमा बहाल रहँदा पदीय मर्यादाको दुरुपयोग गरी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बीमा बोर्डको सदस्यका रूपमा नियमित कार्यमा संलग्न गराएको भन्दै कारबाहीका लागि सिफारिस गरेका थिए।
यसअघि बुधबार नै रास्वपाको केन्द्रीय अनुशासन आयोगले सो विषयमा विस्तृत अध्ययन गरी साहलाई कारबाही गर्न प्रतिवेदन पेस गरेको थियो।
मन्त्री साहको यस्तो गतिविधिबाट पार्टीको छवि, आदर्श, सिद्धान्त र मर्यादामा गम्भीर आँच पुग्ने देखिएको निष्कर्षसहित रास्वपा सभापति लामिछानेले प्रधानमन्त्री शाहसमक्ष आयोगको प्रतिवेदनसहित कारबाहीको सिफारिस पेस गरेका हुन्। सोही सिफारिसका आधारमा प्रधानमन्त्री शाहले श्रममन्त्री साहलाई पदमुक्त गरेको प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहालले जानकारी दिइन्।
यसैगरी, आफ्नो जिम्मेवारी निर्वाह गर्दा अपेक्षित गम्भीरता नदेखाएको भन्दै रास्वपा सभापति लामिछानेले स्वास्थ्य तथा जनसंख्यामन्त्री मेहतालाई समेत सचेत गराउन प्रधानमन्त्रीसमक्ष सिफारिस गरेका थिए। सोही सिफारिसका आधारमा प्रधानमन्त्री शाहले मन्त्री मेहतालाई समेत सचेत गराइसकेका छन्।



