काठमाडौँ। नेपाली कांग्रेसले पार्टीको १५ औं महाधिवेशनको कार्यलाई औपचारिक रुपमा सुरु गरेको छ। कांग्रेसले १५ औं महाधिवेशनको तयारीसहित संगठनलाई तल्लो तहसम्म नै चलायमान बनाउन ७७ वटै जिल्ला र तल्ला तहमा पुग्ने गरि `जरा अभियान´ सुरु गरेको हो।
कांग्रेसले शनिबार सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष अभिमुखीकरण कार्यक्रमसँगै महाधिवेशनको कार्यतालिका अनुसारका गतिविधिसहित १ महिने `जरा अभियान´लाई पनि सँगै सुरु गरेको कांग्रेस महामन्त्री प्रदीप पौडेलले जानकारी दिए।
उनका अनुसार आगामी २०८३ सालको बैशाख १ गतेदेखि मसान्तसम्म यो अभियान संचालन हुनेछ। यो अभियान अन्तर्गत १ महिनासम्म जिल्ला हुँदै ६ हजार ७४३ वडामै विविध कार्यक्रम हुनेछ। केन्द्रीय प्रतिनिधिले जिल्ला कार्यसमिति सँगको समन्वयमा वडामा पनि वडा प्रतिनिधि तोक्ने छन्
महामन्त्री पौडेलका अनुसार जरा अभियानमार्फत क्रियाशील सदस्यता अद्यावधिक गर्ने, पार्टीको सांगठनिक गतिविधिको विश्लेषण गर्ने, जनतासँग, युवाहरुसँग र पार्टी बाहिरका शुभेच्छुकहरुसँग निर्वाचित प्रतिनिधिको समीक्षात्मक कार्यक्रम गर्ने, सामाजिक र सिर्जनात्मक अभियान सञ्चालन गर्ने तथा स्थानीय सरकार सञ्चालन र आगामी बजेट निर्माणसँग सम्बन्धित मार्ग निर्देशन एवं सहजीकरण गर्ने उद्देश्य कांग्रेसको छ।
कार्यक्रममा कांग्रेस युवा नेता प्रताप पौडेलले केन्द्रीय प्रतिनिधिहरुलाई विशेष महाधिवेशनबाट पारित विधान, खटिने प्रतिनिधिहरूको कार्यविधि र प्राविधिक पक्षका बारेमा जानकारी गराएका थिए।
यसपटक कांग्रेसले सदस्यता नवीकरणमा नयाँ र कडा व्यवस्था लागू गरेको छ। वैशाख महिनाभित्र केन्द्रदेखि प्रत्येक तहका पार्टी सदस्यले आआफ्नो सम्बन्धित वडामा स्वयं उपस्थित भएर अनिवार्य रुपमा सदस्यता अद्यावधिक गर्नुपर्नेछ। उनीहरूलाई पार्टीले 'कांग्रेस आई डी' दिनेछ। यो परिचयपत्र प्राप्त गर्ने सदस्यहरूले मात्र आगामी असोजमा हुने १५औं महाधिवेशनको प्रक्रियामा सहभागी हुन र मतदान गर्न पाउने छन्।
पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका सबै जिल्लाहरूमा प्रतिनिधिहरूको कार्यविभाजन भई कार्य प्रारम्भ भइसकेको छ।
कुन जिल्लामा को प्रतिनिधि हेरौं :








