काठमाडौं। सरकारले गर्ने काम समेटिएको प्राथमिकताको १०० वटा बुँदा बालेन्द्र शाहको सरकार बने लगत्तै गत चैत १४ गते सार्वजनिक भयो। विविध क्षेत्रलाई सम्बोधन गरेर मन्त्रीपरिषद बैठकबाट पारित गरेर ल्याइएको सुधारका पानामा स्वास्थ्य क्षेत्रले बुँदा नम्बर ८५ मा स्थान पायो।
सार्वजनिक कार्यसूचीअन्तर्गत स्वास्थ्य क्षेत्रका लागि ८५ नम्बर बुँदामा ६ वटा खण्ड उल्लेख छ। यो सात दिनमा चाहिँ स्वास्थ्य मन्त्रालयले सो बुँदामा आधारित रहेर केके गर्यो त?
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ती बुँदामा उल्लेख भएका मध्ये केही कामको विवरण सार्वजनिक गरेको हो।
अघि बढ्यो १० प्रतिशत बेडमा नि:शुल्क उपचार
जसअन्तर्गत स्वास्थ्य मन्त्रालयले यो अवधिमा निःशुल्क उपचारको काम अघि बढाएको जनाएको छ। मन्त्रालयका अनुसार ३२ वटा अस्पताल (१९ निजी र १३ सरकारी) का १०% बेडमा निःशुल्क उपचार प्रदान गरिएको विवरण मन्त्रालयको वेबसाइटमा अद्यावधिक गरिएको छ।
अस्पताल सेवा सुधार
मन्त्रालयका अनुसार वीर अस्पताल, गंगालाल हृदय केन्द्र, कान्ति बाल अस्पताल लगायतका अस्पतालहरूमा सेवाको गुणस्तर सुधारका लागि अनुगमन गरी आवश्यक सुधारका लागि पृष्ठपोषण गरिएको छ।
साथै, अस्पताल सेवा सुधार निर्देशिकाको प्रारम्भिक मस्यौदा तयार गरिएको छ। यसैगरी चैत १५ गते संघीय तथा प्रादेशिक अस्पतालहरूसँग सेवा गुणस्तर सुधार सम्बन्धी छलफल आयोजना गरिएको मन्त्रालयले जनाएको छ।
सोअनुसार विभिन्न अस्पतालहरूबाट सुधार कार्ययोजना अनुसार सेवा सुधार भएको प्रतिवेदन प्राप्त भएको मन्त्रालयको प्रगति विवरणमा उल्लेख छ।
जलन (Burn) वार्ड स्थापना
नयाँ सरकार बनेयता सुदूरपश्चिम प्रदेशको टीकापुर, महाकाली र सेती प्रादेशिक अस्पतालका साथै मधेस प्रदेशको कलैया अस्पतालमा जलन वार्ड स्थापना तथा सेवा सञ्चालनको तयारी सुरु गरिएको मन्त्रालयले जनाएको छ।
साथै, मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनकपुरमा अवरुद्ध रहेको जलन उपचार सेवा पुनः सञ्चालन गरिएको मन्त्रालयको विवरणमा उल्लेख छ।
हवाई एम्बुलेन्स
सुदूरपश्चिम, मध्य तथा पूर्वी नेपालका पहाडी क्षेत्रमा आपतकालीन स्वास्थ्य सेवाका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा (Standby) राख्ने सम्बन्धमा आवश्यक व्यवस्था हाल कार्यान्वयनमा रहेको मन्त्रालयले प्रगति विवरणमा उल्लेख गरेको छ।
दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धार सम्बन्धी कार्यविधिमा आवश्यक संशोधन गर्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँग परामर्श तथा समन्वय गरिएको मन्त्रालयले जनाएको हो।
गुनासो सम्बोधन
स्वास्थ्य क्षेत्रका गुनासोहरू संकलन गर्न QR Code र छुट्टै इमेल (gunaso.mohp@gmail.com) को व्यवस्था गरिएको मन्त्रालयले उल्लेख गरेको छ। साथै, एकीकृत प्रणालीमार्फत गुनासो सम्बोधन कार्य सुरु गरिएको मन्त्रालयले प्रगति विवरणमा जनाएको छ।



